मतान्तर बढाउँदै एमाले उम्मेदवार सुहाङ नेम्वाङ

मतान्तर बढाउँदै एमाले उम्मेदवार सुहाङ नेम्वाङ


प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २५,७१२ मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् ।

हालसम्मको मत गणनाअनुसार नेम्बाङले १०,४१९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७,०६२ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ५,७५३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १,४५१ मत प्राप्त गरेका छन् । अहिले माङसेबुङ गाउँपालिका-१ को मतगणना भइरहेको छ ।

इलाम-२ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै ६/६ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै नौ वडा र इलाम नगरपालिकाका ११ वडा (१ बाहेक) गरी ४२ वडा पर्दछन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याएका थिए । त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार थिए । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ ।