लाल मोहमद हत्याका अभियुक्त पासवान पक्राउ

लाल मोहमद हत्याका अभियुक्त पासवान पक्राउ


राजधानीको गोठाटारमा लाल मोहमदको हत्यामा संलग्न भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । गत २०७९ असोज ३ गते काठमाडौंको गोठाटारमा लाल मोहमदको हत्यामा पासवान सलंग्न रहेको प्रहरीको निष्कर्ष छ ।

गणेशकुमार पनि भनिने बब्लुले २०७३ जेठ १३ गते बाराको महागढीमाई-१ पसाहा पुलनजिक वीरगञ्ज बस्ने सुरेश केडियाको अपहरण गर्न मुख्य योजना बनाएका थिए । भारतमा बसेर उनले पर्सा तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने अपराध गर्दै आएका थिए ।

पासवानले साना हतियारको कारोबार गर्ने, नेपालमा अपराध गरेर भारत पुग्ने नेपालीलाई संरक्षण गर्ने, ठूला उद्योगी व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

आइतबार राति ११ बजे भारतबाट लागुऔषध र साना हतियारसहित बब्लु नेपाल प्रवेश गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । उनलाई वीरगञ्ज महानगरपालिका-१६ भुटनदेवी मन्दिरअगाडि फेला पारेको प्रहरी जनाउँछ । उनलाई पक्राउ गर्न लाग्दा भाग्न खोजेपछि दुई राउण्ड गोली चलाएर पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रहरी कारवाहीको क्रममा बब्लुको बायाँ खुट्टाको घुँडामुनि गोली लागी घाइते भएका र तत्कालै उपचारको लागि नारायणी अस्पतालमा लगि उपचारपश्चात प्रहरी-नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको छ । भारतको विहार पूर्वी चम्पारण रक्सौल निवासी ४५ वर्षीय बब्लु पक्राउ परेपछि तराईका जिल्लामा अपराधिक क्रियाकलापमा कमी आउने प्रहरीको भनाइ छ ।