टेरामक्स खरिद प्रकरण : प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनजना दोषी ठहर, १७ जनाले पाए सफाइ

टेरामक्स खरिद प्रकरण : प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनजना दोषी ठहर, १७ जनाले पाए सफाइ


नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा विशेष अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार (२२ असार) प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिएकी छन् ।

दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनै जनालाई ६ महिना कैद र रु ५० हजार दरले जरिबाना ठहर भएको छ । झाको हकमा थप ६ महिना कैद हुने समेत अदालतले ठहर गरेको छ ।

उक्त टेरामक्स खरिद प्रकरणमा १९ जना प्रतिवादी भएकोमा तीन जनामा दोषी ठहर भएका हुन् भने बाँकीले १७ जनाले सफाइ पाएका छन् । उक्त प्रकरणमा पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सफाइ पाएका छन् ।

अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशकहरु दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडालाई सफाइ दिएको छ । त्यस्तै, प्राविधरकणका उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप आचार्यलाई सफाइ हुने ठहर गरेको छ । प्राधिकरणका कर्मचारी विजयकुमार रायले पनि सफाइ पाएका छन् ।

अदालतले भ्यानराइस एसएएल (अफ्सोर) नामक आपूर्तिकर्ता र त्यसको मुख्य व्यक्ति प्रमुख कार्यकारी अधिकृत जमल अनोटी र स्थानीय एजेन्ट ट्रेडलिङ्क प्रालि तथा अध्यक्ष दीलिपकुमार गुरुङलाई पनि सफाइ दिएको छ ।