कक्षा १२को परीक्षामा ग्रुप म्यासेन्जरबाट चिटिङ, चिटिङमा ज्ञानज्योति ‘फर्स्ट’ !

कक्षा १२को परीक्षामा ग्रुप म्यासेन्जरबाट चिटिङ, चिटिङमा ज्ञानज्योति ‘फर्स्ट’ !


  • गणेश आचार्य, दाङ

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि देशैभर एकैसाथ चलिरहेको छ । परीक्षा मर्यादित तरिकाले चलिरहेको छ भने कतै लापरवाहीको पराकाष्ठा छ । परीक्षा अमर्यादित भएको पाइएपछि तुलसीपुर उपमहानगरपालिकाले परीक्षा केन्द्रको अनुगमनलाई तीव्र बनाएको छ ।

मेयर टिकाराम खड्काको नेतृत्वमा छुट्टाछुट्टै टोली अनुगमन र निरीक्षणमा छ । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार हालसम्म करिव ४३५ थान मोबाइल बरामद गरिएको छ । निरीक्षणका क्रममा हालसम्म सबैभदा धेरै तुलसीपुरमा उत्कृष्ट मानिने ज्ञानज्योति माविका विद्यार्थीबाट चिट चोर्न प्रयोग गरिएका मोबाइल बरामद भएका छन् ।

ज्ञानज्योतिका विद्यार्थीले महेन्द्र मावि, गुरुजजुर मावि रक्षाचौर मावि र जनता संस्कृत मावि बिजौरीसहित तीनवटा केन्द्रबाट परीक्षा दिइरहेका छन् । तीमध्ये पहिलो दिन महेन्द्र मावि केन्द्रबाट १२८ थान, दोस्रो दिन गुरुजजुर मावि रक्षाचौर केन्द्रबाट १९ थान र तेस्रो दिन जनता संस्कृत मावि बिजौरी केन्द्रबाट १०६ थान गरी २५३ थान मोबाइल ग्रुप म्यासेन्जरमा चिट चोर्दाचोर्दै बरामद गरिएको छ ।

शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार तुलसीपुरका परीक्षा केन्द्रमा शिक्षकले नै फेसबुक म्यासेन्जरमा ग्रुप बनाई प्रश्नका उत्तर पठाउने गरेका छन । उक्त ग्रुपमा परीक्षार्थीलाई समेत जोडिएको छ । परीक्षार्थीले म्यासेन्जर ग्रुपमा आएको प्रश्न उत्तर उत्तर पुस्तिकामा सार्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले ग्रुप म्यासेन्जरमा आएका प्रश्न उत्तर, ग्रुप एडमिन र प्रश्नको उत्तर लेख्ने शिक्षकका बारेमा प्रमाणसहित प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई जानकारी गराएको छ ।