आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु


धादिङको थाक्रे गाउँपालिका-५ पुरानडाँडास्थित घट्टेखोला भन्ने स्थानको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा लामा र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएका छन् । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ ।

‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो’, प्रहरी उपरीक्षक केसीको भनाइ छ ।

यसैबीच, गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका-५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको बताइएको छ । पालुङटार नगरपालिका-९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि मरेको छ ।