चोरिएका चौबिस वटा दुईपाङ्ग्रे सवारी साधन हस्तान्तरण

चोरिएका चौबिस वटा दुईपाङ्ग्रे सवारी साधन हस्तान्तरण


विभिन्न मितिमा हराएका २४ वटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले १९ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, गौशाला, बौद्ध, माछापोखरी, सितापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल र थलि लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका २४ वटा सहित ३ सय ३५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरू अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।