वैदेशिक रोजगारीको नाममा ठगी : २१९ जनाबाट ३ करोड ३७ लाख असुली

वैदेशिक रोजगारीको नाममा ठगी : २१९ जनाबाट ३ करोड ३७ लाख असुली


  • सुरेन्द्र सुवेदी, काठमाडौं

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर २ सय १९ जनाबाट ३ करोड ३७ लाख रुपैयाँबढी ठगी गर्ने संगठित गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भनि आफ्नो नक्कली नाम बताएर प्रलोभनमा पार्दै अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाएर यो गिरोहले ठग्दै आएको थियो ।

यो गिरोहमा रामेछापको लिखु तामाकोशी–७ घर भएका र हाल काठमाडौंको कागेश्वरी मनहरा–७ बस्ने ३५ वर्षीय नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ, झापाको गौरादह १ का र हाल ललितपुर २२ भैसेपार्टी बस्ने ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेको खुलेको हो । पाण्डे र श्रेष्ठले नियोनी एजुकेसनल कन्सल्टेन्सीमार्फत युवाहरु ठग्दै आएका थिए ।

राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गर्दै नियोनी एजुकेसन र भिषा सर्भिस नामकोे कन्सल्टेन्सी पुतलीसडकबाट जापानमा वर्किङ भिषामा पठाउने भन्दै प्रतिव्यक्ति ४ देखि ७ लाख रुपैयाँसम्म संकलन गर्दै आएका थिए ।

नियोनी एजुकेसन प्रालिका सञ्चालक आफू नारायणबहादुर राई नाम गरेको व्यक्ति भएको र जापान जाने विभिन्न मानिसहरुलाई आफ्नो (नारायणबहादुर राई) सानिमा बैंकको र पर्वराज भन्ने ईश्वरी पाण्डेको कामना विकाश बैंकको खातामा २ सयजना भन्दा धेरै व्यक्तिलाई रकम जम्मा गर्न लगाएर रकम संकलन गर्दै ठगी गरेको प्रहरी अनुसनधानबाट खुलेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

प्रहरीका अनुसार दिपबहादुर तामाङमार्फत् १३ जनाबाट ३७ लाख, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएका थिए । यस्तै उनीहरुविरुद्ध वैदेशिक रोजगार विभागमा करिब एक सय जनाबाट जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको छ ।