बागमतीमा अब नेवारी र तामाङ सरकारी कामकाजको भाषा बन्ने

बागमतीमा अब नेवारी र तामाङ सरकारी कामकाजको भाषा बन्ने


बागमती प्रदेशमा अब नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याइने भएको छ । यही वैशाख २४ गतेदेखि व्यावहारिकरुपमा उक्त दुई भाषा प्रयोगमा ल्याइने बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिएका छन् ।

मन्त्री बज्राचार्यका अनुसार यही वैशाख २४ गते बिहान ९ बजे काठमाडौंको वसन्तपुरमा प्रधानमन्त्री प्रचण्डले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने विशेष समारोहको समुद्घाटन गर्ने कार्यक्रम छ ।

काठमाडौंको वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न वेषभूषा र झाँक्रीसहित ऱ्यालीले काठमाडौं नगरको परिक्रममा गर्ने पनि बताइएको छ ।

यसैगरी प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसियालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनीमन्त्री गङ्गानारायण श्रेष्ठले बताएका छन् ।

उक्त भाषा प्रयोगमा ल्याइएको खुसियालीमा हुने कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति बनाइएको छ ।

बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।