चिम्टीका अग्निपीडित खुल्ला आकाशमुनि

चिम्टीका अग्निपीडित खुल्ला आकाशमुनि


सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ ।

सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराज, मिसन कलेज र पदमा एन्ड टुरिजम बथनाहाको सहकार्यमा खाना खुवाउने व्यवस्था मिलाइएको हो । सो कार्यक्रमअन्तर्गत बिहान र बेलुका निःशुल्क खाना खुवाउने गरिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिएका छन् ।

परामर्श सेवा केन्द्रले अग्निपीडितका लागि एक सय किलो चामल, २५ किलो दाल, पाँच लिटर खानेतेल, ५५ किलो तरकारी, ५० किलो तरबुजा, ४० किलो दही र दुई कार्टुन पानी उपलब्ध गराएको छ । चिम्टी अग्निपीडितलाई कर परामर्श सेवा केन्द्र राजविराजले खाद्यान्न उपलब्ध गराएको छ । सप्तरी युथ नेपालका विपद् व्यवस्थापन समिति संयोजक सत्येन्द्र यादवका अनुसार दैनिक भोजन सेवा सञ्चालन गरी खाना खुवाउने व्यवस्था मिलाइएको हो । उनका अनुसार अग्निपीडितलाई दैनिक बिहान र बेलुका खाना खुवाउने गरिएको छ ।

विगत पाँच दिनदेखि बिहान र बेलुका निःशुल्क रुपमा दैनिक भोजन सेवाअन्तर्गत एक दिन बिहानको खाना, राजविराज नगरपालिका-१० बिरोलका स्थानीय र बेलुकाको खाना गैरआवासीय अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेको संयोजक यादवले जानकारी दिए ।

अग्निपीडित खुल्ला आकाशमुनि

महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडित ७५ वर्षीया लोखनीदेवी यादवको परिवार छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनि बसिरहेकी छन् । उनको परिवारलाई दिन र रात कटाउन मुस्किल परेको छ ।

आगलागीबाट पूर्णरुपमा घर जलेपछि चर्को घाममा पालमुनि बस्दा गर्मीले सताउने र राति सुत्न, बस्न समस्या हुने गरेको उनको दुखेसो छ । वैशाख महिनामा दिउँसो हावाहुरी चल्न थालेपछि जीउभरि धुलो हुने गरेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सरकारलाई सहयोगको आग्रह गरेकी छन् ।

अर्का अग्निपीडित दुर्गाप्रसाद यादवले सर्वस्व आगोमा जलेपछि गुजारा गर्ने कुनै उपाय नरहेको भन्दै च्युरा, मुरहीबाहेक अन्य कुनै राहत नपाएको गुनासो पोखे ।

७५ वर्षीया अग्निपीडित दुखनीदेवी यादवले बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछि खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएको सुनाउँदै भनिन्, ‘यो एउटा पातलो त्रिपालमा छ जना छोरी, एउटा छोरा र नातिनातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौतीे छ ।’ आगलागीमा परेको पाँच दिन बित्दासमेत दुईचार केजी च्युरा, मुरहीबाहेक केही नपाएको उनको गुनासो छ ।

वडाअध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहतस्वरुप चाउचाउ, मुरही, चिउरा, पानी अग्निपीडितलाई वितरण गरिएको जानकारी दिए । अग्निपीडितलाई राहत जुटाउने कार्य जारी रहेको उनको भनाइ छ । महादेवा गाउँपालिकाले विभिन्न सङ्घसंस्था र स्थानीय प्रशासनसँग पहल गरी रहेको जनाएको छ ।

स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट गत मङ्गलबार दिउँसो सल्किएको आगो निभाउन नसक्दा महादेवा गाउँपालिका-१ चिम्टीका ६२ परिवारको एक सय १४ घर जलेको थियो । जिल्ला प्रशासन कार्यालयले चिम्टीमै सहायता कक्ष स्थापना गरेको छ ।

तस्बिर : रासस