भालुले लखेट्दा भीरबाट लडेर ७० वटा भेडा मरे

भालुले लखेट्दा भीरबाट लडेर ७० वटा भेडा मरे


जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० वटा भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ती भेडा गएराति भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए ।

मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका कूल एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् भने ३१ वटा भेडा बेपत्ता छन् ।

गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाइ घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् ।

पीडित भेडा रावत दाजुभाइलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिएका छन् ।

Representative image