रुसी सेनामा आवद्ध नेपाली : ३९ जनाको मृत्यु, २७२ सम्पर्कविहीन

रुसी सेनामा आवद्ध नेपाली : ३९ जनाको मृत्यु, २७२ सम्पर्कविहीन


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपालबाट भिजिट भिषामा र दलालले भारतको दिल्लीहुँदै रुस पुऱ्याएका र त्यहाँको सेनामा भर्ना भएका ३९ जना नेपाली युवाको मृत्यु भएको छ । थप एक जनाको मृत्यु भएको तर स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ । रुसी सेनामा कार्यरत ५ जना नेपाली युवा युक्रेनको कब्जामा रहेको बुझिएको छ । नेपाली युवाहरु १ सय १७ जना घाइते भएका छन् भने २ सय ७२ जना सम्पर्कविहीन रहेका छन् ।

रुसी सेनामा आबद्ध नेपालीको जिवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीका अनुसार रुसी सेनामा भर्ना भएकामध्ये १५ जनाले करार सम्झौता रद्द गरेका छन् भने ११ जनाले रुसी राहदानीका लागि निवेदन दिएका छन् । ३१ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका र बाँकी व्यक्ति अभियानको सम्पर्कमा रहेको संयोजक भण्डारीले घटना र विचारलाई बताइन् । उनका अनुसार रुस युद्धदेखि हालसम्म अभियानले ६ सय ९१ जनाको विवरण संकलन गरेको छ ।

रुस र युक्रेन युद्धको पृष्ठभुमिमा रुसी सेनामा आवद्ध नेपालीहरुको जिवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताका लागि पहल गरिदिन अभियानल प्रधानमन्त्री पुष्पकमल दाहालसँग अनुरोध पनि गरेको छ ।

‘वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रुसी सेनामा भर्ना हुन पुगेका नेपाली युवाहरुको संलग्नताबारे हामीसँग व्याट्सएप ग्रुपमा जोडिएका ४ सय २१ जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृष्य सामग्रीहरु पठाउने गर्नुहुन्छ । ती सामग्रीहरु देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ । यस पृष्ठभुमिमा रुसबाट नेपाली दाजुभाइहरुले निरन्तर हामीलाई सम्पर्क गरी जिवनरक्षा गरिदिन अनुरोध गरिरहनुभएको छ ।’ – अभियानले प्रम प्रचण्डलाई बुझाएको पत्रमा भनिएको छ ।

रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था गर्न अभियानकी संयोजक भण्डारीसमेतले प्रधानमन्त्री प्रचण्डसित निम्न माग गरेको छ ।

१. करार सम्झौता रद्द गरी उद्दारको पर्खाईमा रहेका व्यक्तिहरुलाई पुनः यद्ध मैदानमा लगिएकाले उनीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने व्यवस्था ।
२. युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्था ।
३. युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था ।
४. मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ता उपलब्ध गराउने व्यवस्था ।
५. वेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन तहमा ल्याउने व्यवस्था ।
६. रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्ने व्यवस्था ।
७. प्रलोभनमा पारि रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारवाही गर्ने व्यवस्था ।
८. रुसी सेनामा कार्यरत रहदा पाउने तलब भत्ता सुविधा सहित घाइते प्राप्त गर्ने क्षतिपूर्ति नेपालबाटै प्राप्त गर्ने व्यवस्था ।
९. पीडित परिवारको उद्दार, राहत र पुनस्र्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था ।
१०. विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर्नुपर्ने व्यवस्था ।
११. रुसी सेनाबाट फर्किएर आएका युवाको पुनस्र्थापना तथा पीडित परिवारको उचित हेरचाहको व्यवस्था ।
१द्द. कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौता विना सैन्य सेवामा भर्ती नगर्न पहल गर्नुपर्ने व्यवस्था ।