कलङ्कीबाट आठ दिनअघि हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

कलङ्कीबाट आठ दिनअघि हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्


आठ दिनअघि काठमाडौंको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति क्षेत्रमा भेटिएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताइएको छ ।

‘अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ’, प्रवक्ता अधिकारीले भनेका छन् । उनको घर चितवनको कालिका नगरपालिका-६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् ।

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ ।