राजनीतिका ऐंजेरू – ‘पेशेवर नेतागण’

राजनीतिका ऐंजेरू – ‘पेशेवर नेतागण’


नेपालको राजनीति स्वार्थसिद्धिको माध्यममात्र भइरहेको छ । नेताहरुले राजनीतिलाई सत्ता खेलको दाउपेच मात्र बनाइरहेका छन्, न कि मुलुक विकास र जनहितमा प्रयोग । लोकतन्त्र सीमित व्यक्तिहरूका लागि रजाइँ गर्ने माध्यम बनेको छ । दलका शीर्ष नेताहरू नै महास्वार्थी भए । आफ्नो व्यक्तिगत लाभका लागि नेताहरू जे पनि गर्न तयार हुँदा नै मुलुकको भविष्य भने तिरोहित भयो । आज मुलुक झनै संकटतिर भासिँदै छ । राजनीतिक भद्रगोलले देशको स्वास्थ्य गम्भीर छ । यिनै नेताहरूका कारण राजनीति चरम अस्थिर बनेको छ ।

राजनीतिक दलहरूले जनताको भोटलाई लिस्नो बनाएर सत्ता र केवल सत्ताका लागि इमान, सिद्धान्त, नैतिकता र निष्ठालाई त्याग्दै गएका छन् । ‘काले-काले मिलेर खाउँ भाले’ शैलीमा पालैपालो सत्तामा जाने र देशको ढुकुटी सक्ने काम बाहेक दलीय पसल सञ्चालन गरिरहेको साहूहरूले अर्थोक गरेनन् । देश र जनताले दुःख पाइरहने यस्तो अराजनीतिक रवैयाले नागरिकहरू निराश र आक्रोशित समेत छन् ।

मुलुकमा बारम्बार व्यवस्था बदलियो, तर अवस्था बदलिएन । नेताहरूको स्वार्थको राजनीति गर्ने क्रम नै टांगिदै आयो । देश र जनतालाई केन्द्रमा राखेर भाग्य र भविष्य निर्माण गर्ने नेतृत्व अहिलेसम्म त यो देशका नागरिकले पाएकै छैनन् । जनतामा आशा जगाउने नेतृत्वको खडेरी कायमै छ । दलहरूको ध्यान भनेको जहिल्यै सत्तामा पुग्ने, सत्तास्वार्थका लागि गठबन्धन तोड्ने, नयाँ बनाउने र आर्थिक लाभ लिनेजस्ता गतिविधिभन्दा अर्थोक छैन । देशमा भ्रष्टाचार नियन्त्रण छैन । जबकि वर्षौंदेखि युवाहरू विदेश पलायन भइरहेका छन् । कृषि उत्पादन घट्दै गएको छ । विकास निर्माणका कामहरू चुस्त-दुरुस्त हुन सकेका छैनन् । व्यापार घाटा बढ्दै गएको छ ।

व्यक्तिगत, नातागत, गुटगत र पार्टीगत स्वार्थभन्दा माथि उठ्न सकेन- नेपाली राजनीति । मूल आदर्शबाट विचलित भएर नितान्त आफ्ना स्वार्थका लागि जस्तोसुकै अपवित्र गठबन्धन गर्ने संसारमै कहीँ नभएको ‘डाइनोसर राजनीति’ नेपालमा चल्दै आएको छ । यो वा त्यो बहाना गर्दै सत्ताको चाकाचुलीमा अक्षम, अयोग्य र बेइमान पात्र र प्रवृत्तिले निरन्तरता पाइरहेको छ । राजनीति बिग्रिँदै जाँदा मुलुकका सबै क्षेत्र बिग्रँदै जाने दुष्परिणामका भागी भने देश र जनता बनेका छन् ।

गरीब जनता दुःखसास्ती र हैरानी बेहोरेर पनि कर तिर्छन् भने सरकारी कोशमा जम्मा हुन पुगेको त्यस्तो करमा तिनै नेतागण, भ्रष्ट कर्मचारी, दलहरूका धियापोताले अनेक कथा कथुरी लूट मच्चाउने गर्छन् । अर्कातिर, निजी क्षेत्रका उद्योगी-व्यवसायी र अनेक क्षेत्रका माफियाहरूले त्यही कर अर्बौं रकम छल्दै आएका कैयौं प्रकरण जगजाहेर छ भने त्यस बाहेक कमिशनखोर लगायतले दोहन गर्ने पाटो अलग्गै छँदैछ । तर, एकमुष्ट भन्नु पर्दा, यस मुलुकलाई बिगार्ने नानानामे दलका अक्षम नेताहरू नै हुन् । विधिको शासन हराउँदै जानुका कारक तिनै नेता हुन् ।

देश विकासका लागि नीतिगत स्थायित्व र राजनीतिक स्थिरता अनिवार्य शर्त भएजस्तै नैतिकता पनि राजनीतिको अनिवार्य शर्त हो । इमान र नैतिकता बिनाको राजनीति स्वार्थान्ध नै हुन्छ । त्यसैले अब ‘राजनीति’को नाममा दलको पसल थाप्ने ‘पेशेवर राजनीतिक व्यापारीहरू’माथि जनताले प्रश्न उठाउनु पर्छ र आफ्नो सार्वभौम अधिकार सदुपयोग गर्दै लघार्न सक्नु पर्छ । जनताको सिलसिलेवार मौनता अब घातक मोडमा पुग्दैछ । त्यसैले मुलुक र मुलुकीको भविष्य बर्बाद गरिरहेका कुपात्रहरूलाई खबरदारीले नपुग्ने भएको छ, चेतावनी नै दिन जरुरी भइसकेको छ ।

नीतिभन्दा नेताको बज्रस्वाँठ पारा हावी भइरहेको यो मुलुकमा नेताहरू तस्कर र माफियाको हितचिन्तक अथवा संरक्षक भएपछि कुन जुगमा सम्भव हुन्छ र- सुशासन ? अनि कहिले हुन्छ- देश र जनतालाई फलिफाप ? अनि नेपालमा ‘लोकतान्त्रिक गणतन्त्र’ ले कहिले चाहिँ गुणस्तर प्रमाण-चिन्ह पाउँछ ?