रन्जु यादवले कोपनहेगनमा सिकाइन् बालबालिकालाई मिथिला चित्र

रन्जु यादवले कोपनहेगनमा सिकाइन् बालबालिकालाई मिथिला चित्र


युरोप यात्रामा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।

चित्रकार यादव अहिले तेत्तिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका पारेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार (२८ वैशाख) एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो । आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए ।

त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो ।

युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव वैशाख ६ गतेदेखि युरोप भ्रमणमा छिन् । जर्मनीको फ्र्यान्कफर्टमा बैशाख ८ गते चित्रकार यादवको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो । यस्तै, बैशाख २९ र ३० गते डेनमार्कको कोपनहेगनमा दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजनापछि फिनल्याण्डको राजधानी हेलसिन्कीमा जेठ ५ र ६ गते उनको एकल चित्रकला प्रदर्शनी हुने बताइएको छ ।

उनले भनेकी छन्- ‘यो मेरो लागि खुसी र गौरवको क्षण हो कि मैले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रकला सिकाउने अवसर पाएँ । मिथिला चित्रकलाप्रति आकर्षित भएर बालबालिकाका अभिभावकहरुले पनि मसँग मिथिला चित्र सिकेका थिएँ ।’

कोपनहेगनमा एक दिवसीय मिथिला कला वर्कसपको आयोजना एनआएन डेनमार्कले गरेको थियो । विदेशी भूमि र त्यसमा पनि नेपालभन्दा धेरै टाढा युरोपको एउटा देशमा नेपालको गौरव मिथिला चित्रकलालाई विस्तार र प्रवद्र्धन गर्ने अवसर पाउनु मेरोलागि मात्र होइन, नेपाली चित्रकला जगतकै लागि ठूलो खुसी र गौरवको कुरा हो ।