जर्मनीमा रहेका नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान

जर्मनीमा रहेका नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान


सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गरेका छन् ।

शनिबार बर्लिनमा सम्पन्न ‘नेपाली व्यवसायीहरूको दोस्रो सम्मेलन’मा उनले जर्मनीमा विभिन्न पेसा/व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गरेको बर्लनीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत खड्काले नेपालमा ‘नेशनल ब्रेन गेन सेन्टर’ स्थापना, गैरआवासीय नेपाली विधेयक कार्यान्वयन तथा नागरिकता ऐन संशोधनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै नेपालको सामाजिक, आर्थिक विकासमा वैज्ञानिक एवं प्राविधिक क्षेत्रका साथै सामाजिक एवं आर्थिक विकासमा सघाउन जर्मनीमा रहेका नेपालीलाई अनुरोध गरे ।

सम्मेलन नेपाली राजदूतावास र जर्मनको विकास सहयोग नियोग (जिआइजेड)का काठमाडौं कार्यालयले आयोजना गरेको हो । सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, भेरी अस्पतालका ‘इन्टरनल मेडिसिन’ विभागका प्रमुख डा. राजन पाण्डे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव नारायण तिमिल्सिनालगायत ७० जना जर्मनीमा पेसा, व्यवसायमा संलग्न व्यक्तिको सहभागिता थियो ।

सम्मेलनको उद्घाटन राजदूत खड्का र जेआइजेडका देशीय प्रबन्धक फ्लोरिन क्रिन्सले गरेका थिए । जर्मनीमा रहेका नेपालीको ज्ञान, सीप र अनुभव नेपालको सामाजिक/आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ ।

file photo