चार वरिष्ठ प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

चार वरिष्ठ प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित


हालै पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नविन्द अर्याल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उच्च तहमा बढुवा भएका प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

सो अवसरमा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक उमेशराज जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्‍वास र थप कर्तव्य वोधका साथ पूरा गर्ने धारणा राखे ।