टर्की पठाउने भनी ४ करोड बढी ठगी

टर्की पठाउने भनी ४ करोड बढी ठगी


टर्कीको युएन मिसन कार्यालयमा वर्क परर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने प्रलोभनमा पारी मिनबहादुर कार्कीलगायत १ सय २४ जना ब्यक्तिबाट ४ करोड ३४ लाख रुपैयाँ ठगी गर्ने एक युवा पक्राउ परेका छन् । यस्तो ठगीमा संलग्न विनोद श्रेष्ठ (४२) काठमाडौं-७, चावहिलबाट पक्राउ परेका हुन् ।

श्रेष्ठले युएनको भवन निर्माणमा काम खुलेको र मासिक १ हजार ४ सय ५० डलर कमाई हुन्छ भनी विश्वास दिलाइ चुच्चेपाटीस्थित जमघट रेष्टुरेन्टमा भेट गरी रकम उठाउने गरेका थिए । श्रेष्ठले पीडितसँग सम्पर्क गरी सुरुमा ५० हजार प्रतिव्यक्ति लिएको र पीडितलाई मिनबहादुर कार्की समेत ४ जनालाई भारतको दिल्लीमा पुर्याएर प्रतिव्यक्ति ३ लाख उठाएपछि भारतमा रहेका एजेन्टलाई सम्पर्क गराएर विश्वास दिलाएका थिए । रकम लिएपछि पीडितहरु १५ दिन होटलमा नै बसेका र कोही सम्पर्कमा नआएपछि नेपाल फर्केका थिए ।

विनोद श्रेष्ठलको श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेलसमेत विरुद्ध सिआइबीबाट ठगी मुद्धामा अनुसन्धान भएर हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।