दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने


स्वीडेनले दिगो विकासका लक्ष्यप्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौं आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ ।

यही जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिने स्वीडिस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (१ जेठ) राजदूत थेसलेफ काठमाडौं आउँदै हुनुहुन्छ । ‘स्वीडेन र नेपालबीचको व्यापार प्रवर्द्धनका साथै नेपालमा स्वीडिस कम्पनीहरूको व्यापार साझेदारीका सम्भावनाहरूको खोजी गर्न बैठकमा मेरो सहभागिता उपयोगी हुने विश्वास गरेको छु’, उहाँले वक्तव्यमा भन्नुभएको छ ।

राजदूत थेसलेफले स्वीडेन-नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गर्दै जलवायु पहल र दिगो विकासका लक्ष्य हासिल गर्ने नेपाल सरकारको लक्ष्यमा सघाउन स्वीडेन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राजदूत थेसलेफ नेतृत्वको प्रतिनिधिमण्डलमा स्वीडेनका उद्यमी, व्यवसायी, सरकारी प्रतिनिधिका साथै ऊर्जा निकायका पदाधिकारी सहभागी हुनुहुन्छ ।

स्वीडेन र नेपालबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको आपसी सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्ध निरन्तर प्रगाढ बन्दै आएको छ ।

  • रासस