आधुनिक सीताको कथा

आधुनिक सीताको कथा


वि.सं. २०७२ वैशाख १२ गतेको विनासकारी भुकम्पपछि गाउँघरका घरहरू जस्ताको टहरामा परिणत भइसकेका थिए । सरकारले दिने पुनःनिर्माणको राहत सर्वेक्षणमा छुटेका र घर पुनःनिर्माण कार्यमा आफ्नो पहुँच नहुनेले लामै समय त्रिपाल र पुरानो जस्ताले घेराबार गरेको टहरामै सुत्केरी आमाशिशु वृद्धावस्थाका बा-आमाले घामपानीको ओत लाग्नुपर्ने अवस्था थियो । धेरैको अवस्था अप्ठ्यारो थियो, त्यसमा पनि एकल महिला र घरमा पुरुष सदस्य नहुनेहरूको अलि बढी नै बिजोग भएको थियो ।

यो मेरै एक छिमेकी महिलाले भोगेको वास्तविकता हो । पाँच वर्ष र दुई वर्षका दुईवटी छोरीसँग थिइन् उनी । श्रीमान् विदेशमा थिए । घरबाट अङ्श बण्डा गरी छुट्टै बसेका, छेउमा छिमेकीको रुपमा आफ्नै जेठाजुको घर थियो । अलिक पर अर्को घरमा सासू-ससुरा र देवर बस्ने गरेका थिए । ती महिलाको टहरामा भित्र तीनजना आमाछोरी थिए भने बाहिर पाँच वटा बाख्रा र दश वटा कुखुरा थिए । उनी एउटी छोरीलाई हिँडाउने अर्कीलाई आङमा बोकेर मेलापात कुखुरा बाख्रा पालेर घर चलाउने गर्थिन् । आफैले दुःख गरेर विदेशमा भएका श्रीमान्लाई आर्थिक बोझबाट टाढा राखिरहेकी थिइन् ।

उमेरले २६ वर्षकी ती महिलाको आनिबानी सबैसँग हाँसीखुशी बोल्ने थियो । बाहिरबाट आएका मानिसहरू, पाहुनापाछा, इष्टमित्र सबैलाई बसौँ खाउँ भन्ने । भ्याइनभ्याइ आफ्नो घरमा जे छ पकाएर खुवाउने । त्यो दिन, उनको घरमा राति करिब ९ बजेतिर ठुलो हल्लाखल्ला भयो । हल्लाले गाउँका मानिसहरू ब्युँझिए, म पनि उठेर के भएको रहेछ भनेर उनको घरमा पुगें । उनका जेठाजुले उनीसङ्गै एक जना केटालाई समेत तथानाम गाली गरिरहेका थिए । केही क्षणमा प्रहरी बोलाइयो र ती दुईलाई प्रहरीको जिम्मा लगाइयो ।

गाउँका मानिस जम्मा भएर प्रहरी बोलाई जिम्मा लगाउँदा रातिको १२ बजिसकेको थियो । दृष्य दुःखदायी थियो, दुइवर्षे छोरी ढाडमा निदाएकी थिइन् भने अर्कीलाई हातमा समातेकी थिइन् । छोरीहरू आमालाई सोधिरहेका थिए, हामी कहाँ जान लागेको आमा ? अहिले राति छ, भोलि उज्यालोमा जाँदा हुँदैन ?

छोरीहरूले त्यसो भन्दा ती महिलाका जेठाजु र बच्चीहरूका ठुलोबुबा पर्नेले भएभरको बल निकालेर भनिरहेका थिए, दुई जना मात्रै राति ८-९ को बीचमा घरमा भेटिएको छ, प्रहरीलाई जिम्मा नलाएर के गर्नु ? अहिले नलाएर कहिले लाउनु ? यही केटालाई जिम्मा दिने हो, यसले जिम्मा लिनैपर्छ । त्यतिखेरसम्म आरोपी महिला र पुरुषलाई बोल्ने वातावरण थिएन, उनीहरूलाई बोल्नै दिइएको थिएन । सबैले आँकनल गरे- यिनीहरू दोषी नै हुन् । राति नै २० जना जति स्थानीय केटाहरू, घरका जेठाजुलगायतले उनीहरूलाई चौकी लाने टुङ्गो भएपछि आफूले केही गर्न नसक्ने देखेर म घरतिर लागेँ ।

भोलिपल्ट बिहान छरछिमेक जताततै त्यही कुरा चलिरहेको थियो । त्यसबीचमा केटीको बा-आमा दिदीबहिनीलाई बोलाइएछ । उनको घरमा भेटिएको केटाका घरका मान्छे पनि आएका रहेछन् । खाना खाएर सबै जानुपर्छ गाउँपालिकामा भन्ने उर्दी नै जस्तो रहेछ गाउँमा । म ११ बजेतिर गाउँपालिका कार्यालय पुग्दा २०० जना जति मान्छे जम्मा भएका रहेछन् । प्रहरी, गाउँपालिकाको न्यायिक समिति, दुइटी छोरीको आमाका दिदीबहिनी, आरोपित केटाका घरका मान्छे, ती दुई जनालाई हिजो घरमा सङ्गै देखेका जेठाजु देवरदेखि म जस्ता छरछिमेकी । मैले एउटा कुनामा बसेर सबै कुरा हेरिरहेँ । हल्लाखल्ला ठुलै अवाजमा चर्काचर्की भइरहेको थियो ।

हल्ला नियन्त्रण गर्न गारो भएपछि गाउँपालिकाले सम्बन्धित मान्छेलाई मात्रै राखेर छलफल गर्ने भयो । सबैले आ-आफ्नो कुरा राखे । जेठाजु भन्छ- ‘एउटा महिला र पुरुषमात्रै रातिको ८/९ बजे बन्द गरेको घरभित्र भेटेको छ, यसलाई रङ्गेहात मानेर आज जिम्मा लिनुपर्छ, मेरो भाइ विदेशमा छ , मैले जे भनेँ त्यही हुन्छ ।’ प्रहरी भन्छ- ‘केटीको जेठाजुले बोलाएर जाँदा हामीले रङ्गेहात पक्डेको हो ।’ एक-दुई जना छिमेकी बोल्छन्- ‘हल्ला सुनेपछि हामी गएको, कोठा भित्रबाट बन्द थियो । सबैलाई लाग्यो दुई जनाको पुरानै सम्बन्ध रहेछ । त्यो नाजायज सम्बन्धले विदेशमा रहेका ती दुई नानीको बालाई कति तोड परेको होला !’ खाससुस कुरा गरे सबैले । ‘अब त यही केटाले लान्छ, लानुपर्छ’, यही आवाज गुञ्जिरहेको थियो सबैतिर । त्यतिखेरसम्ममा देशबाहिर रहेका ती नानीहरूका बाबालाई सबै कुरा थाहा भइसकेको थियो । आरोपित केटाकेटी भने सबैको कुरा सुनेर जो बोल्छ उसैतिर हेरेर बसिरहे ।

सबैले आफ्नो धारणा राखेपछि आरोपित केटालाई बोल्न दिइयो । गाउँपालिका न्यायिक समितिका सदस्यहरूले गरेको प्रश्नको जवाफ दिन लाग्दा केटालाई रोक्न खोजियो, बोल्न सक्ने वातावरण थिएन । बल्ल-बल्ल उनी बोले- ‘मैले उहाँलाई (महिलालाई देखाउँदै) पहिलोपल्ट देखेको हुँ । त्यही घरको बाजेसङ्गै साँझ सात बजेतिर त्यो घरमा पुगेको थिएँ । बाजेकै आग्रहमा हामी (आरोपित केटीका ससुरा) दुवैले रक्सी खायौँ । उहाँले पनि ससुरासँग आएको मान्छे भनेर मलाई सोधीखोजी गर्नुभएन । पिएको मान्छे… कतिखेर हो बाजे घर निस्किनुभएछ, म उहाँ आउनुहोला र सँगै जाउँला भनेर पर्खिरहेको थिएँ । निकैबेर नआएपछि म घरबाट निस्कनै लागेको थिएँ, त्यत्तिकैमा बाहिरबाट कसैले जस्तामा ढुङ्गा हान्यो अनि को हो ? किन बसेको ? कहाँबाट आको ? तँलाई मार्छु भनेर कराउन थालेपछि डरले ढोका लगाएँ । त्यसअघिसम्म ढोका खुल्लै थियो । नानीहरू डरले रुन थालेपछि बत्ती निभाएँ । फेरि झनै ठुलो अवाजमा जस्तामा केकेले हान्न थालेपछि म डरले नबोली भित्रै बसिरहेँ । एकछिनमा बाहिरबाट कसैले साँचो लगाइदियो र प्रहरी बोलाएर हामीलाई जिम्मा लगाइयो । हाम्रो भेट पहिलोपटक हो, योभन्दा पहिला देखभेट कुराकानी केही भएको थिएन, छैन ।’

आरोपित महिलाले भनिन्, ‘मेरो ससुरा र यो मान्छे सङ्गै आएका हुन् । ससुरासँग आएको पाहुनालाई मैले रक्सी खान देको हो, मलाई त उनको नाम पनि थाहा छैन, यसअघि कहिल्यै देखेको छैन । घटना अहिले उनले भनेझैँ भयो, एक्कासी ढुंगा हान्न थाल्दा के भएको हो मैले केही थाहा पाइनँ ।’

तर, महिलाको भनाइलाई कसैले विश्वास गरेनन् । उनीहरूको एउटै भनाइ रह्यो- ‘सङ्गै भेटेको हो, जिम्मा लिनुपर्छ ।’

गाउँपालिकाको न्यायिक समितिको निष्कर्ष रह्यो- ‘आरोपमा परेकाले हो भने आरोप स्विकार्नु पऱ्यो, होइन भने आरोपीले माफी माग्नु पऱ्यो । शारीरिक सम्पर्क भए/नभएको भनेर पुष्टि गर्ने ७२ घण्टाभित्रको स्वास्थ्य परीक्षण गराउनु पऱ्यो ।’

लामो समयको छलफलमा १ र २ नम्बरमा दुवै पक्ष सहमत नभएपछि ३ नम्बरमा जाने भन्नेमा छलफल भयो । आरोपित केटाकेटी स्वास्थ्य परीक्षण गर्न सहमत भए । प्रहरी र हस्पिटलको सम्पर्कमा दुवै जना स्वास्थ्य परीक्षणमा जान तयार भए ।

सबै कुराको जानकारी विदेशमा रहेका केटीका श्रीमानलाई प्रत्यक्ष रूपमा भइरहेको थियो । न्यायिक समितिले आरोपित केटीका विदेशमा रहेका पतिलाई सबैले सुन्नेगरी फोन गरे- ‘भाइ.., सबै कुरा थहा भकै छ, दुःख लाग्नु, पीडाबोध गर्नु स्वाभाविकै हो, फेरि पनि सबै कुरा सोचेको र सुनेको भरमा सत्य हुन सक्दैन, यसलाई पुष्टि गर्न दुवैले स्वास्थ्य परीक्षण गर्न तयार भको छ । यसको अर्थ हामीले उनीहरू दोषी छैन भन्ने बुझ्छौँ, बाँकी स्वास्थ्य परीक्षणको रिपोर्ट पछिमात्र थाहा हुन्छ ।’

यतिखेरसम्म उताबाट केही अवाज आको थिएन । यताबाट पुनः भनियो- ‘आफ्ना दुई छोरीहरूको भविष्य हेर र श्रीमतीले घर धानेर बसेका सुखदुःख साटेका कुरालाई सम्झेर, मनलाई बुझाउ । छोरीहरूको आमासँगको यता घटेका घटनाको यो १५-१८ घण्टा बीचको समयलाई भुलिदिनु, नानीहरूको आमाले पटक-पटक कल गरिराछ, फोन उठाउनु, कुरा गर्नु, आफ्नो श्रीमती कस्तो छ आफुलाई थाहा हुन्छ, एकछिनमा स्वास्थ्य परीक्षणका लागि हस्पिटल पठाउँछौँ ।’

सबै कुरा सुनिसकेपछि उताबाट मलिन पीडा बोध भएको आवाज आयो- ‘म अर्काको ठाउँमा छु, हिजोदेखि मलाई के भको छ मलाई मात्रै थाहा छ, गाउँले छरछिमेकीले सबैले थहा पायौ ती केटासङ्ग नाम जोडिएको, त्यसैले अब हस्पिटल गएर ल्याएको स्वास्थ्य परीक्षण रिपोर्ट जे-जस्तो आएपनि मलाई मतलब भएन । दुइटी छोरी मेरो हो, हिजोदेखि श्रीमती मेरो हैन ।’ यति भनेपछि फोन काटियो । एकछिनमा श्रीमतीको नम्बरबाट कल गर्दा ब्लक गरेको पाइयो ।

उताबाट श्रीमानले हस्पिटलको रिपोर्टको अर्थ नरहने, समाज र छरछिमेकीले बोलेपछि सकियो भन्ने कुरा आएपछि यता श्रीमती स्वास्थ्य परीक्षण नगर्नेमा पुगिन् । श्रीमानले छोडिसकेपछि स्वास्थ्य परीक्षणको के अर्थ ? भन्ने उनलाई लागेको थियो । जब उनले त्यसो भनिन्, त्यसपछि मानिसहरू भन्न थाले- ‘स्वास्थ्य परीक्षण नगर्नु भनेको गल्ती स्विकार्नु हो, गल्ती नगरेको भए त गरिहाल्थी नि !’ आरोप लागेको केटाको परिवारले खासै केही भनेन, केटाले नै केही सम्बन्ध छैन, पहिलोपल्ट भेटेको हो भनेपछि सकिहाल्यो नि भने । दुई सन्तानकी आमा एक्लै भइन् ।

त्यहाँ जम्मा भएका महिलाहरूले सोधे- ‘तिमी कहाँ जान्छौ अब ? एक्लै छैनौ दुई-दुइटा छोरी लालनपालन, दुःख बिमार होला, अर्काको बच्चा हामी राख्न सक्दैनौँ ।’ उनले भनिन्- ‘सबैथोक छ, मेरो घर-परिवार, कुखुरा बाख्रा पालेकै छु, हिजो पनि म दुःख गरेरै बसेकी छु, कहाँ जानु ? आफ्नै घर जान्छु । यत्तिकैमा केटीको दिदीको फोन बज्छ, महिलाको पतिले फोनमा भन्छ- ‘दिदी, घरमा चाबी लगाइदेउ भनेको छु मैले । तपाईंको बाहिनीको नाम लिन चाहन्न, छोरीहरूको लागि खर्च तपाईंको खातामा हिजोअस्ति जसरी हालम्ला !’ यति भनेर फोन काटियो ।

त्यो दिनदेखि उक्त घरमा लागेको ताला अहिले पनि झुण्डिरहेको छ । हिजो पौराणिक कालमा बिनागल्ती सीतालाई गाउँलेले आरोप लगाए भनेर रामले गाउँलेको कुरा पत्याउँदा सीताले अग्निपरीक्षा दिनुपरेको थियो । अहिलेकी यी आधुनिक जमानाकी सीतालाई गाउँलेले आरोप लगाएकै भरमा पतिले छोडिदिएका छन् । आरोपित भएपछि दुई सन्तान लिएर सीता फेरि जंगल गएकी थिइन् । अहिलेकी यी सीता पनि दुई सन्तान लिएर गाउँ छोड्न बाध्य पारिइन् । हाम्रो समाजमा यसरी सीताहरूको परीक्षा जारी छ ।

(शान्ति लामा म्याङ्ग गाउँपालिका नुवाकोटकी पूर्व उपाध्यक्ष हुन् ।)