अमेरिका र क्यानडामा मानव तस्करी : तीन जना पक्राउ

अमेरिका र क्यानडामा मानव तस्करी : तीन जना पक्राउ


अमेरिका तथा क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ बस्ने ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ बस्ने ४८ वर्षीय जंगबहादुर विक (बराल) र ४६ वर्षीय बिष्णुबहादुर बराली रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कञ्चनपुर गड्डाचौकी नजिकबाट पक्राउ गरेको हो । अमेरिका, क्यानडालगायतका मुलुकहरूमा पठाइदिन्छौं भन्दै १० जना व्यक्तिबाट ५ करोड ५० लाख रूपैयाँ ठगी गरेको अभियोगमा यसअघि सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो । टासी, ङिमबुटी र निमालाई एजेन्टको रूपमा राखि जगतबहादुरसमेत ३ जना भारतको नयाँ दिल्लीमा बसेर संगठित रूपमा मानव तस्करी एवम् ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारी राखेको, केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको, पीडितहरू अमेरिका प्रवेश गरेपछि जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुन व्यवसायीहरू प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनि पहिले नै काउन्सेलिङ गरी विश्वास दिलाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए ।