इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन


इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ । मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उहाँको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो ।

इतिहासकार नेपालका भाइ एकमणि नेपालका अनुसार उहाँको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ । इतिहासकार नेपालका दुई छोरा हुनुहुन्छ ।

नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा चिनिन्छ । उहाँले भोजपुरमा १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न सुरु गर्नुभएको थियो । काठमाडौंमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गर्नुभएको छ । नेपालका ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएको लेखक एवं साहित्यकार हरिप्रसाद सोडारीले जानकारी दिनुभयो ।

नेपालले नयराज पन्तसँग शिक्षा आर्जन गर्नुभएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नुभएका नेपाल वृद्धअवस्थासम्म पनि इतिहासको खोज, अध्ययन र अनुसन्धानमा सक्रिय हुनुहुन्थ्यो ।