निजी ट्याक्सीमार्फत् बिरामीलाई निःशुल्क सेवा : ट्याक्सीचालक मगरको सम्मान

निजी ट्याक्सीमार्फत् बिरामीलाई निःशुल्क सेवा : ट्याक्सीचालक मगरको सम्मान


सबै मानिस विष्णु काउचा मगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सीचालक उहाँ आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउनुहुन्छ । आठ वर्षअघि ट्याक्सी चलाउन थाल्नुभएका उहाँले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहनुभएको छ ।

बागलुङको गलकोट नगरपालिका-१० पाण्डवखानीका उहाँले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको सोमबार वर्ष दिन पुग्यो । सो अवसरमा उहाँलाई गलकोट नगरपालिका र अस्पताल व्यवस्थापन समितिले सम्मान पनि गऱ्यो । मगरले हरेक सोमबार गलकोट-३ हटियाबजारबाट गलकोट-५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आउनुभएको छ ।

करिब चार किमी दूरीको उक्त सडकखण्डमा एक दिन भए पनि निःशुल्क यात्रा गर्न पाउँदा बिरामी र उनीहरूका आफन्त खुसी छन् । भाडाको सवारीसाधनमा महँगो शुल्क तिरेर अस्पताल जानुपर्ने बाध्यता केही हदसम्म भए पनि कम भएको छ । उहाँले हरेक सोमबार बिहान ९ देखि दिउँसो ४ बजेसम्म निःशुल्क ट्याक्सी सेवा सञ्चालन गर्दै आउनुभएको छ ।

‘नगर अस्पताल जाने बरामी, उनीहरूका सहयोगी र भेट्न जाने आफन्तलाई निःशुल्क सेवा दिने गरेको छु’, उहाँले भन्नुभयो- ‘सरकारी अस्पतालप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढोस् भनेर मैले साताको एक दिन ट्याक्सी सेवालाई निःशुल्क बनाउने निर्णय गरेको हुँ ।’

गत एक वर्षमा झण्डै चार हजार बिरामी र उनीहरूका आफन्तलाई निःशुल्क सेवा प्रदान गरेको मगरले बताउनुभयो । ‘कोहीले धेरैपटक सेवा लिनुभएको हुनुसक्छ, अस्पताल ल्याउने र लैजाने गर्दा सङ्ख्यात्मक रूपमा झण्डै चार हजारलाई निःशुल्क सेवा दिएको मेरो आकलन छ’, मगरले भन्नुभयो- ‘यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छु ।’

साताको ६ दिन कमाइ गर्ने र एक दिन सेवामा समर्पित हुने सोचअनुसार बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिइरहेको मगरले बताउनुभयो । उहाँ आफैँ ट्याक्सी व्यवसायी र चालक हुनुहुन्छ । उहाँले एकैदिनमा कम्तीमा ४० देखि ८० जनासम्मलाई निःशुल्क सेवा दिएको बताउनुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गरैले मानवीय सेवाप्रति मगरले देखाएको सर्मपण भाव प्रशंसनीय रहेको बताउनुभयो । ‘उहाँको सेवाबाट सर्वसाधारण बिरामीलाई राहत मिलेको छ, उहाँको योगदान कदरयोग्य छ’, प्रमुख गैरेले भन्नुभयो, ‘सडक स्तरीय बनाउने काम भइरहेकाले अस्पतालसम्मको आउजाउ अझै सहज हुन्छ ।’ स्वास्थ्यचौकीलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गरेपछि सेवाको गुणस्तर थपिएको र अस्पतालप्रति जनविश्वास पनि बढेको उहाँले बताउनुभयो ।

यसअघि नगरपालिकाले स्थापना दिवसमा समाजसेवीका रूपमा मगरलाई सम्मान गरेको थियो । नेपाल मगर सङ्घ गलकोट नगर समितिद्वारा पनि उहाँ सम्मानित भइसक्नुभएको छ । ‘सम्मान र हौसलाले सामाजिक सेवाप्रति थप क्रियाशील हुने प्रेरणा मिलेको छ’, उहाँले भन्नुभयो, ‘बिरामीले प्रकट गर्ने सम्मानजनक व्यवहार र आर्शीवचनले त झनै मनमा खुसी मिल्छ ।’

तस्बिर : रासस