‘कुलमान काइदा’ : फिडर मर्मतका नाममा राजधानीमा अघोषित लोडसेडिङ

‘कुलमान काइदा’ : फिडर मर्मतका नाममा राजधानीमा अघोषित लोडसेडिङ


  • सुरेन्द्र सुवेदी, काठमाडौं

मागअनुसार विद्युत वितरण गर्न नसकेको नेपाल विद्युत प्राधिकरणले छिर्के बाटो अपनाउँदै अघोषित लोडसेडिङ गरिरहेको छ । फिडर मर्मतका नाममा कुलमानले नयाँ ‘काइदा’ अपनाएर लोडसेडिङलाई विकल्पमा प्रस्तुत गरिरहेका छन् । जसको मुख्य कारण भनेको राजधानीमा मागअनुसार बिजुली वितरण गर्न नपुग्नु नै हो । राजधानीमा दैनिक ३ सय ५० मेगावाट विजुलीको माग छ । गर्मी बढेकोले पङ्खा, फ्रिज र एसी चलाउनुपर्दा यो मागमा थप केही बढ्ने हुन्छ ।

विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने बहानामा बिजुली आपूर्ति बन्द गर्ने सूचना नै जारी गरेको छ । जसअनुसार नयाँबजार फिडरतर्फ खुसिबू, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पतालमा बिहीबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विजुली आपूर्ति बन्द गरिनेछ ।

यस्तै, शुक्रबार नयाँबजार र क्षेत्रपाटी क्षेत्रका टेकू, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी चोक, धोवीचौर, ठहिटी, पकनाजोल र कान्तिपथमा पनि बिजुली दिइने छैन । आगामी आइतबार भीमसेनस्थानतर्फ वडा नम्बर १२, ह्युमत, जैसीदेवल, चिगमंगल, भिमसेनस्थान र काष्ठमण्डपमा बिजुली बन्द गरिने छ ।

योक्रम निरन्तर जारी रहने छ, किनभने बिजुलीको माग धान्न सक्ने अवस्था नरहेपछि प्राधिकरणले मर्मतको बहानामा यही जेठ ८ गतेसम्म राजधानीका मुख्य बजार र बिजुली बढी खपत हुने क्षेत्रमा लाइन काट्न थालेको हो । टेकू, पचली, भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर र विश्वनिकेतन स्कुल क्षेत्रमा पनि बिजुली वितरण दिनको समयमा बन्द गरिनेछ ।

नेपालमा अहिले अर्थात् हिउँदको समयमा १ हजार १ सय मेगावाटमात्र बिजुली उत्पादन हुन्छ । ‘रन रिभर’ भनिने खोलामा पानी हुँदा बढी उत्पादन र पानी घट्दा कम उत्पादन हुने प्रणालीजडित बिजुली उत्पादनका कारण हिउँदको समयमा सधैं बिजुलीअभाव भइरहन्छ । नेपालको कूल विद्युत उत्पादन क्षमता भनेको ३ हजार मेगावाट हो । जसमा निजी क्षेत्रको २ हजार ३ सय मेगावाट र सरकारी क्षेत्रको ७ सय मेगावाट रहेको छ ।

राजधानी बाहिरका अधिकांश स्थानमा पिक आवर भनिने बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ६ बजेदेखि ९ बजेसम्म बिजुलीको प्रयोग गर्न नपाएर उपभोक्ता हैरान छन् । औद्योगिक क्षेत्रमा बिजुली नभएर उत्पादन गर्न नै समस्या भइरहेको छ । ‘कुलमान काइदा’ले तराइदेखि पहाडी क्षेत्रको बिजुलीमा अघोषित रुपमा लोडसेडिङ गरेर काठमाडौंमा भने बिजुली दिने गरिएकोमा खोलामा पानी घट्दै गएपछि उत्पादन कम हुनुले पर्याप्त बिजुली दिन नसक्दा मर्मतका नाममा कुलमानले लोडसेडिङ गरिरहेको प्राधिकरणको उच्च स्रोत जनाउँछ ।