श्रीलङ्काबाट उद्धार गरिएकी एक महिलाले खुलाइन् बेचबिखनमा संलग्नको पहिचान

श्रीलङ्काबाट उद्धार गरिएकी एक महिलाले खुलाइन् बेचबिखनमा संलग्नको पहिचान


कोभिड-१९ को बेला श्रीलङ्काबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले बताएकी छन् । ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको कोइरालाको भनाइ छ ।

काठमाडौंमा बुधबार मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिएकी हुन् ।

‘एकजना पीडितले कसले बेचेको र कसरी श्रीलङ्का पुऱ्याएको नामसहित मुख खोल्नुभएको छ, प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ’, उनले भनेकी छन् ।

बेचबिखनमा परेका पीडितले सजिलै अपराधीको नाम खुलाउन नमान्ने भएकोले पीडितलाई न्याय दिलाउन गाह्रो हुने गरेको कोइरालाको भनाइ छ । पछिल्लो समय देश बाहिरमात्र नभइ देशभित्रै छोरीचेलीको किनबेच भइरहेको उनले खुलासा गरिन् । मङ्गलबार काठमाडौंको एक ‘स्पा’बाट १४ जना किशोरी उद्धार गरिएको पनि उनले बताइन् ।

खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष सम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ छ । ‘विदेशमा बेचिन त छँदैछ, छोरीहरु देशभित्रै बेचिएका छन्, कसरी रोक्ने हो ? चिन्ताजनकस्थिति छ, न्यायको टर्च बालेर खोज्नुपर्ने स्थिति छ ।’