स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली चिकित्सक पक्राउ

स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली चिकित्सक पक्राउ


डोटीमा नक्कली चिकित्सक बनेर ठगी गर्न खोज्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक नक्कली डाक्टरसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका-४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका-१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो ।

उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौं पठाइएको र डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भइ जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।