त्यो बेलाका चाउचेस्कु र आजका नेपाली शासक !

त्यो बेलाका चाउचेस्कु र आजका नेपाली शासक !


जसरी पनि सत्ता हत्याउने र त्यसलाई निजी लाभका लागि उपयोग गर्ने होड यतिबेला नेपालको मुख्यतः सत्ता-राजनीतिमा तीव्र भएको छ । त्यस्तो होडमा माओवादी केन्द्रदेखि नेपाली कांग्रेससम्मका पार्टीहरू लामबद्ध छन् । कसले कसलाई कतिबेला कहाँ धोखा दिन्छ र कसलाई पछारेर को सत्तामा पुग्छ कुनै ठेगान छैन ।

मार्क्सवाद छाडेका कतिपय नेताले अवसरवादलाई अँगालिदिँदा अरुलाई समेत सहज भएको छ । जसलाई कुनै बेला ‘छलाङ’ भन्ने गरिन्थ्यो भने हाल आएर ‘उथलपुथल’को रूपमा ब्याख्या/विश्लेषण गर्न थालिएको छ । कतिपयले त उथलपुथललाई आफ्नो जीवनभर आदर्श बनाउने योजना पनि सार्वजनिक गरेका छन् । मुख्यतः जनपक्षीय राजनीतिलाई छिन्नभिन्न गराउने र देशमा जहिले पनि उथलपुथल गरिरहने उनीहरूको घोषित नीति नै रहेको छ, जसलाई ठेट नेपाली भाषामा ‘उपद्रवी राजनीति’ भने हुन्छ । त्यसले कहिल्यै पनि देश र जनताको भलो गर्दैन । देशको समग्र राजनीतिलाई अपव्याख्या गर्ने र पार्टीहरूलाई दर्शन एवम् सिद्धान्तबाट विचलित गराउने कामहरू पनि तीव्ररूपमा भइरहेका छन् । समग्रमा हेर्दा सत्तामा रहेका कतिपय ब्यक्तिहरू यो देशको अस्थित्व नै मेटाउने अभियानमा लागेको भान हुन्छ ।

संसारभरका जे-जे उपद्रो मच्चाउने शासन ब्यवस्था छन्, तिनलाई नेपालमा स्थापित गराउने र जनताको दुर्दशामा मनोरञ्जन लिने कामहरू पनि भइरहेका छन् । कतिपयले त नेपालका ताजा घटनाक्रमहरूलाई हेरेर रोमानियाका शासक निकोलाई चाउचेस्कुको स्मरण गर्नेगरेको देखिएको छ । जसले सन् १९६०-७० को दशकमा कम्युनिष्टको आवरणमा उपद्रो मच्चाएर विश्व राजनीतिमा आफूलाई उदाहारणीय पात्र बनाएका थिए । जसले सन् १९८९ मा जनताबाट मारिनुअघि हातको मुठी उठाएर समाजवादी अन्तर्राष्ट्रिय (इन्टरनेशनल गीत) समेत गाउन भ्याएका थिए । मार्क्सवादी-लेनिनवाद कहिलेकाहीँ सम्झने शब्दहरू थिए । चाउचेस्कोले जप्ने गरेको कथित समाजवाद पछि धराशायी भएको थियो । उनी कमरेड, क्रान्ति र वर्गशत्रुजस्ता शब्दहरू पनि बेलाबखत प्रयोग गर्दथे । चाउचेस्कु पार्टीको केन्द्रीय समिति, पोलिटब्युरोहुँदै सन् १९६५ मा रोमानियन कम्युनिष्ट पार्टीको महासचिवसमेत बनेका थिए । चाउले आफ्नो जीवनको दोश्रो अन्तिम भाषणका क्रममा भनेका थिए- ‘रोमानियामा परिवर्तन त्यसबेलामात्र आउँछ जब स्याउको रुखमा नासपाती फल्न थाल्छ ।’ उनका त्यस्तै उट्पट्याङ खालका भनाइ र गराईले गर्दा रोमानियामा व्यापक जनविद्रोह भएको थियो, जसले उनको विभत्स ढंगले दुःखद अन्त्य गरायो ।

चाउको बाल्यकालमा युरोपमा कम्युनिष्ट राजनीति एकदमै लोकप्रिय बन्दैगएका कारणले उनी पनि कम्युनिष्ट नै बनेका थिए । दोश्रो विश्वयुद्धको सेरोफेरोमा रोमानियामा कम्युनिष्ट पार्टीले सत्ता हातमा लिएको थियो । सन् १९६५ मा चाउ रोमानियाको कम्युनिष्ट पार्टीका महासचिव बन्न सकेकाले १९७४ मार्च २८ देखि १९८९ डिसेम्बर २५ सम्म लगातार १५ वर्ष रोमानियाको शासन सत्ता हातमा लिन पनि सफल भएका थिए । आफू शासनमा रहँदा उनको मुख्य ध्येय नै देशको राजनीतिलाई धमिल्याउनु र आफ्नो स्वार्थ साधना गर्नु रहन्थ्यो । देशलाई ऋणैऋणको भारी बोकाउनु र अस्तब्यस्त तुल्याउनु उनको शोखको विषय थियो । त्यसरी रोमानियामा कम्युनिष्ट सिद्धान्तको खोल ओढेर आएका चाउले देशलाई मात्र सखाप बनाएनन्, कम्युनिष्ट पार्टी र राजनीतिलाई समेत कहिल्यै उठ्न नसक्ने अवस्थामा पुऱ्याइदिएका थिए ।

विश्वमा कम्युनिष्ट सिद्धान्त मान्ने अन्य नेताहरूलाई अमेरिकाले आँखाको कसिंगर ठान्ने गरेपनि चाउचेस्कुलाई अमेरिकाले ‘आफ्नो’ नै घोषणा गरेको थियो । संसारका कम्युनिष्टहरूले तत्कालीन अवस्थामा सोभियत रुसको समर्थन गर्थे तर कम्युनिष्ट भएर पनि चाउचेस्कु सोभियत रुसको सधैं विरोध गर्थे । जनता र देशको आवश्यकताभन्दा उनी सनकका भरमा काम गर्थे । हाल नेपालमा पनि झण्डै त्यस्तै घटनाहरू दोहोरिइरहेका छन् । आफूलाई कम्युनिष्ट भन्नेहरू शासनमा छन् । तर उनीहरू कांग्रेसका नीति तथा कार्यक्रमको कार्यान्वयन गरिरहेका छन् । देश र जनतालाई जसरी अप्ठेरो पर्छ उनीहरूले त्यसैगरी काम गर्ने गरेका छन् । पछिल्लो समयमा नेपालमा प्रायः पार्टीहरूले दर्शन, सिद्धान्त र विचारलाई गौण बनाउँदै लगेका छन् । आफैँले बनाएका विधि र पद्धतिलाई आफैँले मान्दैनन् ।

बहुदलीय ब्यवस्थामा दलका गतिविधिलाई नियन्त्रण गर्ने प्रयास पनि हुनेगरेको देखिएको छ । विद्यार्थी र शिक्षकको आन्दोलनको बलमा सत्तामा पुगेकाहरू हाल आएर विद्यार्थी र शिक्षकलाई राजनीतिबाट विमुख गराउने प्रयास गरिरहेका छन् । फरक विचार र अवधारणा व्यक्त गर्नेहरूमाथि निषेधको ब्यवहार हुनथालेको छ । वक्तब्य प्रकाशित गरेर अन्य पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा आमन्त्रण गर्दछन् । तर आफ्नै पार्टीका होनाहार नेता तथा कार्यकर्ताहरूलाई राजनीतिबाटै किनारा लगाउन पनि अथक प्रयास गर्नेगरेका छन् । घोषित नीति कार्यक्रम, कार्यान्वयनको उपलब्धिबाट होइन, क्षणिक वाहवाहीमा रमाउने तथा जसरी पनि पद र प्रतिष्ठा हत्याउने मनोवृत्ति बढेर गएको छ । सम्पत्ति र बाहुबलका आधारमा सत्तामा टिकिरहने चाहना पनि बढ्दो छ । फेसबुक, ट्विटर, इन्ष्ट्राग्राम लगायतका प्रविधि उनीहरूका लागि सबैभन्दा बाधा बनेका छन् । टिकटमाथि त अमेरिकालाई पनि उछिनेर प्रतिबन्ध लगाएका छन् । अब संचारको पुन संरचना हुँदा कुन-कुन सञ्चारमाध्यमको मटियामेट हुने हो, त्यसको कुनै ठेगान छैन ।

हाल नेपालको शासन सत्तामा रहेकाहरूमा साम्यवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद, परम्परागत उदारवाद आदि कुनैपनि दर्शनसँग रत्तिभर साइनो रहेको देखिँदैन । आफूले आफूलाई समाजवादी सावित गराउने तर समाजवादका आधार भत्काउने कामहरू पनि तीव्ररूपमा भइरहेका छन् । नवउदारवादी एवम् स्वतन्त्र बजार अर्थतन्त्रले उत्पादन गरेको व्यक्तिवाद सत्तामा रहेकाहरूको राजनीतिक मार्गदर्शन भएको छ ।

जसको मूलतत्व भनेकै कलाविहीन राजनीतिक चरित्र प्रदर्शन गर्दै समाजमा राजनीतिप्रति नकारात्मक सन्देश प्रवाह गर्नु हो । कथित मध्यमार्गीहरू राजनीतिकरूपले स्वतन्त्र र तुलनात्मक हिसाबमा इमान्दारजस्ता पनि देखिएका छन् । किनकि उनीहरूलाई अब कुनै क्रान्ति गर्नु छैन । देशमा कुनै परिवर्तन र सुधार पनि गर्नु छैन । कुनै राजनीतिक समस्या आइपऱ्यो भने पहिरिने जामा लोकतन्त्र रहेको छ । उनीहरूले मुलुकको अर्थतन्त्रलाई परनिर्भर र पंगु बनाउँदै लगेको देखिएको छ ।

देशमा आमूल परिवर्तन, समाजवाद, साम्यवाद स्थापनाको नाम भजाएर आएका कतिपय कथित वामपन्थीहरू पुराना शासक जति पनि इमान्दार रहेनन्/देखिएनन् । कुनै पनि वैदेशिक लगानी भित्र्याउन कानूनमै संशोधन गरिदिने, कृषिमा बाह्य लगानी भित्र्याउन समेत तयार हुनेलगायतका गतिविधिहरू बढेका छन् । स्वदेशीलाई विदेशिन बाध्य बनाउने र विदेशीलाई नेपालमा भित्र्याउन सहज बनाउने काम जोडतोडले हुँदैछन् । मुलुक यतिबेला ऋणमा चुर्लुम्म डुबेको अवस्था छ । तर शासन-सत्तामा रहेकाहरू आर्थिक उन्नति भइरहेको भाषण गर्नबाट शर्माएका छैनन्, थाकेका छैनन् । कुनैपनि बेला नेपाल असफल राष्ट्र घोषित हुने सम्भावना बढ्दो छ । तर पनि उनीहरू राष्ट्रिय ढुकुटीको असाधारण दोहन गरिरहेकै छन् ।

०७९ मंसिर ४ को निर्वाचनले दिएको जनादेशको कुनै पालना भएन/भइरहेको छैन । हाल सत्तामा रहेकाहरू आफै संसदीय राजनीतिमा आवधिक निर्वाचनको कुनै औचित्य नरहेको पुष्टि गर्न/गराउन तल्लिन देखिन्छन् । नेपाली जनताको जीवनस्तर उकास्न, पूँजी र प्रविधिलाई दिगो ढंगले व्यवस्थित गर्दै देशमा औद्योगीकरण र आम जनतालाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाउनुपर्नेमा त्यसको ठीक विपरीतका गतिविधिहरू भइरहेका छन् । गत केही वर्षयताको आँकडालाई हेर्दा मुलुकको संरचनागत समस्याका कारणले बजेटको न त राम्रो र जनपक्षीय ढंगले निर्माण हुन सकेको छ न त्यसको कार्यान्वयन सही ढंगले गरिएको छ । पछिल्लो समयमा देशका कार्यकारी प्रमुखबाटै आफू असन्तुष्ट भएको अभिव्यक्ति आउन थालेका छन् । सरकारले जुन गतिमा प्रभावकारी कार्य गर्नुपर्ने थियो, त्यो पनि भएन, मन्त्रीहरूलाई दैनिक कार्य प्रगति विवरण बुझाउन भनियो, त्यो पनि हुन सकेन ।

यसरी देशको शासनसत्ता प्रतिक्रियावादउन्मुख र साम्राज्यवादको प्रयोगशालामा परिणत हुँदैगएको धेरैले अनुभव गर्न थालेका छन् । देशभक्तहरूको ध्यान विद्यमान राजनीतिक ब्यवस्था परिवर्तनमा केन्द्रित हुनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।