ट्राफिक प्रहरीले शुरु गऱ्यो यान्त्रिक चेकिङ : ५३ जना चालक कारवाहीमा

ट्राफिक प्रहरीले शुरु गऱ्यो यान्त्रिक चेकिङ : ५३ जना चालक कारवाहीमा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भक्तपुरको ठूलोवेशीमा गरेको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ५३ वटा सवारी साधनका चालक कारवाहीमा परेका छन् ।

लगभग ८० वटा सवारी साधन चेकजाँच गर्दा ह्याण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत निश्चित मापदण्ड पूरा नभएका सवारी साधन फेला परेपछि चालकलाई कारवाही गरिएको कार्यालयका एसएसपी तथा प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न ट्राफिक प्रहरी राजधानीका तीन वटै जिल्लामा खटिने गरेको छ ।

ट्राफिक प्रहरीको टोली भक्तपुरको टुरिष्ट बसपार्कनजिकै ठूलोवेशी क्षेत्रमा फेला परेका यान्त्रिक अवस्था ठीक नभएका सवारीसाधन मर्मतपछि तोकिएको जरिवाना असुल गरेर ट्राफिकले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने प्रवक्ता एसएसपी श्रेष्ठले जानकारी दिए ।

नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरेर आवश्यक मर्मत सम्भारपछिमात्र सवारी साधन चलाउन ट्राफिक प्रहरीले यातायात व्यवसायी, सवारीधनी तथा चालकलाई आग्रह पनि गरेको छ ।