- सुरेन्द्र सुवेदी, काठमाडौं
यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वाेच्च शीखर सगरमाथाको सफल आरोहण ८० जनाले गरिसकेका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा आधार शिविर फिल्ड कार्यालयका अनुसार विभिन्न देशका आरोहीमध्ये करिव ८० जनाले सफल आरोहण गरेका हुन् ।
‘यसको पूर्ण विवरण भने आरोहणको समय यही जेठ १८ गते सकिने र त्यसपछिमात्र प्राप्त हुनेछ’- निर्देशक गुरुङले घटना र विचारसित भने । यो वर्ष सगरमाथा अरोहण गर्न ४ सय १९ जनाले अनुमति लिएका छन् । ६२ देशका ४ सय ४३ जना पुरुष र ७६ जना महिलाले सगरमाथा चढ्न अनुमति लिएका हुन् ।
नेपालका ३० वटा हिमाल चढ्न ९ सय ९१ जनाले अनुमति लिएका छन् । १ सय १७ समूहका ७ सय ८४ पुरुष र २ सय ७ जना महिलाले नेपालका हिमाल आरोहण गर्न अनुमति लिएको विभागका निर्देशक गुरुङले जानकारी दिए ।
ल्होत्से १ सय ५० जना, आमा दबलम ९९ जना, मकालु ६४ जना, नुप्त्से ३४ जना, कञ्चनजंघा ३३ जना र धौलागिरी हिमाल चढ्न ३० जनाले अनुमति लिएका र उनीहरु त्यसतर्फ गइसकेका छन् ।
यो वर्षको वसन्त ऋतुमा ६८ करोड ५० लाख ७९ हजार २ सय ८१ रुपैयाँ सरकारलाई हिमाल आरोहणको अनुमति दिएवापत रोयल्टी प्राप्त भइसकेको छ । अझै केही समूहले पनि हिमाल चढ्न अनुमति माग गर्ने अपेक्षा गरिएको छ ।
बेपत्तामध्ये एकको शव फेला
सगरमाथा आरोहण गर्न गएका र ८ हजार मिटरमाथि पुगेपछि हराएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव फेला परेको छ । पर्यटन विभागका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो ।
युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी भइरहेको छ । उनीहरु यही वैशाख १ गते बिहानदेखि बेपत्ता थिए ।
प्रतिक्रिया