हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग

हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग


मानव-हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ । रु १० लाख खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिएका छन् ।

उनका अनुसार दुई किलोमिटर वरपरको दृश्य कैद गर्नसक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा जडान गरिएको छ । ड्रोनको तौल साढे सात किलोग्राम रहेको छ ।

ड्रोनको प्रयोगले जङ्गली हात्तीको अवस्था अनुगमन गर्न र गाउँ पसेको स्थितिमा हात्तीलाई सुरक्षितरुपले जङ्गलतर्फ फर्काउन महत्वपूर्ण सघाउ पुग्ने उप्रेतीले बताए । जङ्गल क्षेत्रमा बढिरहेको वन्यजन्तु चोरी तस्करी नियन्त्रणमा ड्रोन उपयोगी हुने वन कार्यालयको आशा छ ।

ड्रोनलाई मोडिफाइ (परिमार्जन) गरेर नाइटभिजन (रातिकोदृश्य) बत्ती र साइरन जडान गरिएको छ । यसलाई रात्रिकालीन अवस्थामा पनि प्रयोग गर्न सकिने बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोनले बजाउने साइरनको आवाज सुनेर जङ्गली हात्ती धपाउन सजिलो हुनेछ ।

यसअघि कार्यालयले हात्ती धपाउन साइरन जडान गरिएका दुई वटा सवारीसाधनलाई प्रयोगमा ल्याउने गरेको थियो । झापामा हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विद्युतीय घेराबेरा, सुरुङ, टुङ, पटाकालगायत विभिन्न उपाय प्रयोग भइसकेका छन् । ती उपायमध्ये विद्युतीय घेराबेरा सबैभन्दा प्रभावकारी देखिएको छ । जिल्लाको उपल्लो बाहुनडाँगीदेखि तल्लो भू-भाग कचनकबलसम्म पछिल्लो समय विद्युतीय घेराबेरा विस्तार भइरहेको छ ।

‘हामीले पहिल्यै ड्रोनको प्रयोग गरेर हात्ती धपाउन औपचारिक परीक्षण गरिसकेका छौँ’, वन डिभिजन कार्यालयका वन अधिकृत उप्रेतीले भनेका छन्, ‘मेचीनगर नगरपालिका-१४ स्थित दुहागढीमा गाउँ प्रवेश गरेका हात्ती ड्रोनको आवाज सुन्नेबित्तिकै जङ्गलतर्फ भागेका थिए ।’

भद्रपुर नगरपालिका-१ निवासी अनिल प्रधानले बनाएको साइरनजडित ड्रोनले चार वर्षअघि हात्ती धपाइएको थियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर ड्रोन परीक्षण लागि वन कर्मचारीलाई तालिम दिइएको छ ।

ड्रोनमार्फत मानव-हात्ती द्वन्द्व न्यूनीकरण प्रभावकारी सावित भएमा आगामी वर्ष प्रविधियुक्त अर्को ड्रोन खरिद गर्ने कार्यालयको योजना रहेको उप्रेतीले जानकारी दिए ।

symbolic image