बहसमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनाव

बहसमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनाव


  • विशेष प्रतिनिधि

अनेसासमा अध्यक्ष पदको लागि वर्तमान महासचिव विमला निरौला, पूर्वसचिव लालगोपाल सुवेदी र वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले आफ्नो उम्मेदवारी घोषणा गसिकेको बताउनुभएको छ। ‘सबैले आफ्ना भावी एजेन्डासहित उम्मेदवारी घोषणा गरिसके, तपाईं किन आफ्नो एजेन्डा सार्वजनिक गर्न ढिला ?’ भन्ने प्रश्नमा सर्वज्ञ वाग्लेले यसो भन्नुभयो, ‘यो संगठन एक प्राज्ञिक तीर्थस्थल जस्तै हो । यसभित्र मर्यादाक्रमको क्रमवद्धतालाई सम्मान गरिनुपर्ने हो जस्तो लाग्छ । म हालसम्म वरिष्ठ उपाध्यक्ष रहेकोले मेरो जाने ठाउँ नै अध्यक्ष भन्दा अन्यत्र कहाँ छ र ? त्यसैले ढिलो नगरी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ ।’

त्यस्तै वरिष्ठ उपाध्यक्षमा न्युयोर्क बासिन्दा वर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठले तयारी गरिरहेको जानकारी दिनुभयो । ‘उछलकुद गरेर जानुभन्दा लयमा जाँदा मर्यादा पनि कायम रहन्छ भने काम गर्न पनि सहज हुन्छ । नेपालको कपीपेष्ट राजनीतिका झिल्काले एनआरएनए सखाप भयो सर.., त्यसैले हाम्रो संगठनमा कुनै पनि साथीले राजनीतिक रुपले गुट उपगुट बनाएर चुनावमा जानु हुँदैन भन्ने लाग्छ । सानो फोहरको टुक्राले पनि सिंगो तलाउको कन्चन पानी मैला गर्छ, सबै साथीहरु त्यसमा चनाखो हुनुपर्छ ।’ फोन सम्वादमा श्रेष्ठले आफ्नो भनाइ यसरी राख्नुभयो ।

अमेरिका क्षेत्रबाट महेश्वर पन्तको हल्ला चलिरहेको भन्ने जिज्ञासामा पन्तले ‘यो पटक म अध्यक्षको सहायक भएर काम गर्ने इच्छा छ, म सम्पूर्ण आजीवन सदस्य तथा अग्रजहरुको सल्लाहको पर्खाइमा छु, उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा हुन्छ’ भनेर जवाफ दिनुभयो । अमेरिकाबाटै उपाध्यक्षमा सुदिपभद्र खनालले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ भने महासचिव पदको लागि राजु सिटौलाले आफ्नो दाबी रहेको जनाउनुभएको छ। 

त्यस्तै, युरोपबाट अनेसास बेल्जियम शाखाका निवर्तमान अध्यक्ष डिल्ली अम्माईले पनि क्षेत्रीय प्रतिनिधित्व गरेर उपाध्यक्षमा जाने सोच रहेको बताउनुभएको छ । उहाँले ‘बेलायत लगायत युरोपका सबै च्याप्टर र त्यस अन्तर्गतका अधिकतम अग्रजहरु प्रस्तावक तथा समर्थक भएमा आफुलाई थप उर्जा मिल्ने र केन्द्रमा सल्लाहमै जाने’ आफ्नो सोच रहेको बताउनुभयो । ‘युरोपका च्याप्टरहरुको सन्दर्भमा, हाम्रो कार्यशैलीमा अलिक परिवर्तन गर्नुपर्ने छ, साहित्यलाई भाषा र संस्कृतिसंग जोडेर नेपाली मुल्यको प्रवाहलाई एकीकृत गर्नुपर्ने छ, संगठनको बिस्तारलाई विवेक पुऱ्याएर बिस्तार गर्नुपर्ने छ । त्यसको लागि मैले यो पटक केन्द्रको उपाध्यक्षमा जाउँ कि भन्ने सोच बनाएको हुँ’- उहाँले आफ्नो दृष्टिकोण यसरी प्रष्ट्याउनुभयो ।

‘सचिवमा जाउँ कि भनेर सोचेको छु, अग्रजहरुसंग छलफलमा छु’, भर्खरै मात्र अनेसासको अन्तराष्ट्रिय सम्मेलन सफलतापुर्वक सम्पन्न गरेको पोर्तुगल शाखाका महासचिव एनबी अन्जानले आफ्नो उम्मेदवारीबारे भन्नुभयो ।

अफ्रिका, एसिया र अष्ट्रेलिया क्षेत्रबाट भने अझैसम्म आधिकारिक रुपले उम्मेदवारी घोषणा भइनसकेको जानकारी प्राप्त भएको छ । अनेसास नेपाली समुदायको अत्यान्त प्रा१िक संगठन भएकोले कमसेकम राजनैतिक रुपले प्यानल बनाउने र गुट उपगुट बनाएर चुनावमा आउन नहुने धेरैको सुझाव रहेको देखियो । ‘अध्यक्षमा अझै उम्मेदवारी पर्न पनि सक्छ, उम्मेदवारहरु घोषणा हुने क्रम चलिरहेकोले कति जनाको कहाँ-कहाँ उम्मेदवारी पर्छ भन्न सकिने अवस्था नरहेको’ नाम नबताउने शर्तमा एक पुर्वअध्यक्षले सम्वाददातालाई बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४-२०२६ कार्यकालको लागि केन्द्रीय कार्यसमितिले निर्वाचनको तयारी सुरू गरेको छ । केहि समय अगाडि अनेसासका केन्द्रिय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुईंटेलको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ ।

समितिमा डा. चूडामणि खनाल र डा. कविता घिमिरे रहेका छन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचनले यसपटक १७औँ अध्यक्षसहित कार्यसमितिलाई निर्वाचित गर्नेछ । विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय जति आजीवन सदस्यहरु रहेका छन् । यसरी विश्वभर यति ठूलो सञ्जाल भएको यो एकमात्र पुरानो र सक्रिय साहित्यिक संस्था हो ।

भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवर्ध्दन पूजाद्वारा जारी गरिएको सुचनामा उल्लेख छ ।

स्मरण रहोस्, यसपटकको निर्वाचनले एक-एकजना अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित प्रत्येक महादेशबाट १-१ जना उपाध्यक्ष गरि पाँच जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । १७ जनाको कार्यसमिति पूरा गर्न दुई जना सदस्य मनोनित गर्नेछ ।