मधेस प्रदेशका चार जिल्लाको सीमा नाका तीन दिन बन्द, रेलवे सेवा पनि बन्द रहने

मधेस प्रदेशका चार जिल्लाको सीमा नाका तीन दिन बन्द, रेलवे सेवा पनि बन्द रहने


भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमा नाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका छन् ।

भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

आगामी सोमबार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले जेठ ४ गते राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल-भारत सीमानाका बन्द रहने जनाइएको छ ।

विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमानाका बन्द गरिने भएका हुन् ।

यसैबीच सोही निर्वाचनलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा तीन दिनका लागि बन्द हुने भएको छ । रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द रहने जनाइएको छ ।