चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस


नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डिआइजी बढुवा सिफारिसमा पर्नेमा कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी रहेका छन् ।

डिआइजीमा रिक्त ३ र यही जेठ १० गते रिक्त हुने एकसमेत चार सिटमा २२ प्रतिस्पर्धी थिए । हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याजी भोला रावल, ध्रुवराज राउत र गणेश चन्द यो बढुवामा छुटेका छन् ।

डिआइजी बढुवाको लाइनमा एसएसपीहरू सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, डिल्लीराज विष्ट र मनोजकुमार यादव थिए ।

उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, सिद्धिविक्रम शाह, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना र गणेश चन्द राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीतर्फ आएका एसएसपी हुन् । उनीहरु सबै छुटाइएका छन् । उनीहरुलाई बढुवामा रोक्न प्रहरीभित्रै ठूलो चलखेल भएको थियो ।

अहिले बढुवा भएकामा दानबहादुर कार्की उनको ब्याचका नम्बर एक एसएसपी थिए र डिआइजी बढुवामा पनि एक नम्बरमै रहेकोले उनी अब प्रहरी महानिरीक्षकको लाइनमा पहिलो दावेदारका रुपमा हेरिएका छन् ।