राजमार्गमा ‘लापसे’ : नागढुङ्गाबाट ६ जना चालक नियन्त्रणमा

राजमार्गमा ‘लापसे’ : नागढुङ्गाबाट ६ जना चालक नियन्त्रणमा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

लागुपदार्थ सेवन गरी राजमार्गमा सवारीसाधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

ना३ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका १ का ३१ वर्षीय अर्जुन खान, ना४ख ४२१५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका ३ का २६ वर्षीय सुशिल परीयार नेपाली, ग२ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका १० का २६ वर्षीय पारस अधिकारीलाई कारवाही गरिएको हो ।

यस्तै, मधेश प्रदेश ०३–००ख ७७ ४४ नम्बरका ट्रकचालक बाराको जितपुरसिमरा उपमहानगरपालिका २ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१–००३क ८७३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका २ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना६ख २९०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका ३ का २२ वर्षीय जिवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव ड्रग किटमा राखेर परीक्षण गर्दा लागू पदार्थ सेवन गरेको प्रमाणित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी र लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । नागढुङगामा शुक्रबार २५ वटा सवारी साधनलाई चेक गर्दा ६ वटा सवारी साधनका चालकले लागू पदार्थ सेवन गरेको पाइएको प्रवक्ता एसएसपी श्रेष्ठले बताए ।

नियन्त्रणमा आएका चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट बुझाइएको छ । चालकले नै लागू पदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियमविपरीत तथा दण्डनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालककोमात्र नभएर यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक प्रहरीको कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न एसएसपी श्रेष्ठ आग्रह गर्छन् ।