बाँकेको जमुनाहा नाका शनिबार रातिदेखि दुई दिनका लागि बन्द

बाँकेको जमुनाहा नाका शनिबार रातिदेखि दुई दिनका लागि बन्द


बाँकेको नेपाल-भारत जमुनाहा नाका शनिबार रातिदेखि दुई दिनका लागि बन्द हुने भएको छ ।

भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका शनिबार राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । भारतमा सोमबार निर्वाचन हुँदैछ ।

खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका थिए ।

यसअघि गत साता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका लागि जमुनाहा नाका बन्द गरिएको थियो ।