फिनल्याण्डमा चित्रकार यादवको मिथिला कला प्रदर्शनी

फिनल्याण्डमा चित्रकार यादवको मिथिला कला प्रदर्शनी


युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न भएको हो ।

युरोप भ्रमणको क्रममा चित्रकार यादवको यो अन्तिम मिथिला कला प्रदर्शनी थियो । प्रदर्शनीमा चित्रकार यादवका ४० वटा मिथिला चित्र राखिएका थिए । उनका चित्रहरु नेपाली समाज र संस्कृतिका राम्रा पक्षको उजागर र नराम्रा पक्षमाथि प्रहार गर्ने खालका हुन्छन् ।

जर्मनी, डेनमार्क र फिनल्याण्डमा आफ्ना मिथिला चित्रहरु प्रदर्शन गर्न चित्रकार यादव गत वैशाख ६ गते ३३ दिनका लागि युरोप कला यात्रामा गएकी हुन् । नेपाली समाज जर्मनीको आयोजनामा गत वैशाख ८ गते जर्मनीको फ्र्यान्कफर्टमा उनको एकल चित्रकला प्रदर्शनी भएको थियो । त्यसपछि बर्लिनको नेपाली दूतावासमा पनि एक दिनका लागि उनका चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।

यस्तै, जेठ ११ र १२ गते डेनमार्कको राजधानी कोपनहेगनमा उनको दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो । त्यसलाई डेनमार्कस्थित नेपाली दुतावास, एनआएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा आयोजना गरेको थियो । त्यसअघि एनआएनए डेनमार्कले आयोजना गरेको एक दिवसीय मिथिला आर्ट वर्कशपमा चित्रकार यादवले करिब पचास जना नेपाली र भारतीय बालबालिका र उनका अभिभावकलाई मिथिला चित्र बनाउन सिकाएकी थिइन् ।

राष्ट्रिय ललितकला पुरस्कारले सम्मानित चित्रकार यादव युरोपका तीन देशमा एकल चित्रकला प्रदर्शनी सम्पन्न गरेर र पाँच देशको भ्रमण सकेर जेठ ८ गते मंगलबार स्वदेश फर्किंदैछिन् ।