बैतडीका दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु

बैतडीका दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु


बैतडीको पुर्च्यौडी नगरपालिका-४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ ।

कर्नाटकस्थित गाउँबस्तीमा बुबाआमासँगै मजदूरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिएका छन् ।

“दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेको जानकारी गराउँदै धामीले दुवैका शरीरमा चोटपटक देखिएको बताएका छन् । बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब ६ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ । घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ ।

धामीका अनुसार सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो, तर अझै शव अस्पतालमै छ । मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् ।