‘सहकारीका समाचार रोकाउन पक्राउ पूर्जी’ : कैलाश सिरोहिया

‘सहकारीका समाचार रोकाउन पक्राउ पूर्जी’ : कैलाश सिरोहिया


कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगीका समाचार रोकाउनका लागि ‘ब्ल्याकमेलिङ’ गर्दै आफूविरूद्ध पक्राउ पूर्जी जारी भएको बताएका छन् । धनुषा जिल्ला अदालतले आज (८ जेठ) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्रन पूर्जी जारी गरेपछि सिरोहियाबाट यस्तो प्रतिक्रिया आएका हो ।

‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्- दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?’ अध्यक्ष सिरोहियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सिरोहियाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै :

कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ ।

निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन ।

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन ।

समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?

अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?

सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । राज्य शक्ति र श्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ । कान्तिपुरको पहिचान र विरासत यही हो ।

कैलाश सिरोहिया
अध्यक्ष
कान्तिपुर मिडिया ग्रुप