प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिव र भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिव र भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट


प्रधानमन्त्री प्रचण्डसँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टे)का महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनको असर एवं बिम्स्टेक मुलुकबीच हुने सहकार्यका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले बिम्स्टेकले क्षेत्रीय आर्थिक सहकार्यलाई बढवा दिँदै आएको उल्लेख गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका विषयमा पनि छलफल चलाउनुपर्ने बताउनुभयो ।

महासचिव पाण्डेले बिम्स्टेक सदस्य मुलुकको हैसियतमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको उल्लेख गर्दै आगामी दिनमा नेपालको भूमिका अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

नेपाल भ्रमणमा रहनुभएका भुटानका कृषि तथा पशुपंक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले पनि आजै (८ जेठ) प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा उहाँहरूबीच जलवायु परिवर्तनको असर एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरबाट नेपाल-भुटान दुवै प्रभावित भएको उल्लेख गर्दै हिमाली देशलाई परेको असरका सम्बन्धमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’का विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूबीच हुने विचारविमर्शले दुवै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भुटानका मन्त्री ल्योन्पोले पर्वतीय देशका मुद्दाहरूमा नेपालले लिएको नेतृत्वदायी भूमिका सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता मुद्दालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भुटान र नेपाल दुवै देशलाई फाइदा पुग्ने गरी नेपालले लिएको नेतृत्वदायी प्रशंसा गर्नुभयो ।

photo: rss