गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण

गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण


चितवनमा गर्मी बढेपछि यहाँको कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।

जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले बढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको जानकारी दिए ।

‘क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सरसफाई, खानपानलगायत कुरामा विशेष ध्यान दिन भनेका छौँ, यो समयमा लामखुट्टेको टोकाईबाट बाँच्न झुलको प्रयोग गर्ने, सफा पानी पिउने, नियमित सरसफाई गर्नेलगायत कुरामा विशेष निगरानी राखिरहेका छौँ’ भन्दै उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कुनै पनि रोगको सङ्क्रमण तिव्र हुने भएकाले थप सतर्कता अपनाइएको बताए ।

कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत माक्सको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई भमिफेदी कारागार कार्यालय मकवानपुर, वीरगञ्ज कारागार नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)का कारागारहरुमा स्थानान्तरण गरिएको कारागार प्रमुख आचार्यले जानकारी दिए ।

दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ३५ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४० जना, उनीहरुसँग आश्रित दुई बालबालिका र दुई सय ५५ क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९५ जना छन् ।