बर्दघाट सुस्तापूर्वमा तीन महिनाबीच तीन वटा दुर्लभ पाटे बाघको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ ।
बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिए । ‘विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान बाट १०/१२ मिटर हिँडेपछि ढलेको अवस्थामा बाघ भेटिएको हामीलाई खबर आएको थियो, स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको हो’, अभिकारीको भनाइ छ ।
बाघको पछिल्लो भागमा जङ्गली जनावरले टोकेको जस्तो चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । मृत बाघलाई घटनास्थलबाट सब डिभिजन वन कार्यालय दम्किबास लगिएको र आज परीक्षण गरिने बताइएको छ ।
बर्दघाट सुस्तापूर्वमा गत फागुनयता योसहित तीन वटा दुर्लभ पाटे बाघ मरेका छन् ।
प्रतिक्रिया