सिक्किममा नेपाली साहित्यिक गतिविधि

सिक्किममा नेपाली साहित्यिक गतिविधि


भारतको सुन्दर पहाडी राज्य सिक्किमको राजधानी गान्तोकमा जनपक्ष प्रकाशनका प्रधानसम्पादक पुयण्प्रसाद शर्माको तत्वावधानमा हालै हिमाली सौगात द्वैमासिक पत्रिकाको सिक्किम साहित्य अङ्क (५०/ स्वर्णअंक) भव्य समारोहबीच लोकार्पण गरियो । पद्मश्री विशिष्ट स्रष्टा सानु लामाको अध्यक्षता तथा सिक्किम विश्वविद्यालयकी प्राध्यापक डा. पुष्प शर्माको प्रमुख आथित्यमा सशक्त युवाकवि गोपाल ढकालबाट सञ्चालित उक्त समारोहमा कवयित्री गीताश्री शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा डा. उदय छेत्री र डा. टी.बी. छेत्रीले क्रमशः सिक्किमेली साहित्य र हिमाली सौगात द्वैमासिक पत्रिकाको प्रस्तुत विशेषाङ्क बारे प्रकाश पार्नुभयो ।

लोकार्पणपश्चात् मन्तव्य दिँदै प्रधानसम्पादक डा. शैलेन्दुप्रकाश नेपालले नेपाली भाषा र साहित्यको समुत्थान र विस्तारमा सिक्किमको योगदान विशिष्ट रहेको हुनाले सिक्किमको साहित्य र यहाँका गौरवशाली स्रष्टाहरुको सम्मान गर्दै स्थापित र नवोदित सबैलाई समेटेर हिमाली सौगातको सिक्किम साहित्य अङ्क प्रकाशन गरिएको बताउनुभयो ।

प्रमुख अतिथि प्रा.डा. शर्माले सिक्किममा साहित्य सिर्जना र गतिविधिमा निरन्तरता देखापरेको छ भन्दै हिमाली सौगात द्वैमासिक पत्रिकाको माया र सदाशयताप्रति आभार व्यक्त गर्नुभयो भने अध्यक्ष लामाले सिक्किम र नेपालका स्रष्टाका कृति दुवैतिर सुलभ हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा सम्पादक डा. नेपाल र जनपक्ष प्रकाशनका भीम शर्मालाई अभिनन्दन समेत गरियो ।

हिमाली सौगातको यस विशेषाङ्कमा ८८ जना स्रष्टाका विविध विषय, विधा रशैलकिा रचनाहरु समाविष्ट छन् । यसको संयोजनमा जनपक्ष प्रकाशन परिवारको महत्वपूर्ण भूमिका रहेको छ । कवि तथा सम्पादक पुण्यप्रसाद शर्मा यसका अतिथि सम्पादक हुनुहुन्छ ।

सिक्कमेली साहित्य जगत् तथा जनपक्ष प्रकाशन परिवारले प्रदर्शन गरेको अपार माया, सद्भाव तथा उपलब्ध सहयोग र सम्मानप्रति हिमाली सौगात तथा यात्री अनुसन्धान केन्द्र परिवारले कृतज्ञता प्रकट गरेको छ ।