सिरोहियाको हिरासत म्याद पुनः तीन दिन थपियो

सिरोहियाको हिरासत म्याद पुनः तीन दिन थपियो


नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले थप तीन दिन हिरासतमै बिताउनुपर्ने भएको छ । जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले आज (११ जेठ) सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

धनुषा अदालतको पाँच नं इजलासमा पक्ष–विपक्षका वकिलहरूको बहसपछि यस्तो आदेश दिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिएका छन् ।

सिरोहियाको पक्षमा वरिष्ठ कहलिएका अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई, रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए ।

सिरोहियालाई प्रहरीले गत मङ्गलबार पक्राउ गरेको थियो ।