‘पुजार सार्की’ र ‘फर्की फर्की’ले पहिलो दिन नै करोड बढीको व्यापार

‘पुजार सार्की’ र ‘फर्की फर्की’ले पहिलो दिन नै करोड बढीको व्यापार


बुद्धजयन्तीको अवसर पारेर गत बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’सहित प्रदर्शन भए ।

‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले पहिलो दिन अधिकांश ‘सो’ ‘हाउसफूल’ रहेको जानकारी दिँदै भने, ‘उच्चस्तरीय चलचित्र भन्दै दर्शकले तारिफ गर्नुका साथै ‘टाइम लुप’ को प्रयोगलाई चाख दिएर हेर्नुभयो । ‘टाइम लुप’ नेपाली चलचित्रमा नयाँ प्रयोग हो । पहिलो दिनको व्यापार निकै उत्साहजनक छ । अब चलचित्र हेर्न दर्शकले नै सिफारिस गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’

सुयोग गुरुङले निर्देशन गरेको सो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।

प्रदर्शनरत अर्को चलचित्र ‘पुजार सार्की’लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । जातीय र वर्गीय विभेदको कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाइएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतको भनाइ छ ।

‘यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेदले विनाश भन्ने देखाउन खोजेको छु । मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ’, निर्देशक राउतले भनेका छन् ।

विकास सुवेदीको कथामा निर्मित उक्त चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गरेका छन् ।

निर्माण पक्षको दाबीअनुसार दुवै चलचित्रले पहिलो दिन नै एक करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरेका छन् ।