सहरका समस्या

सहरका समस्या


सहरका विभिन्न स्थान र विभिन्न विषयमा हुने गरेका कार्यक्रमहरूमा प्रायः मानिसहरूले भन्ने गरेको सुनिन्छ– यस्तो कार्यक्रम त गाउँमा हुनुपर्ने, गाउँका मान्छेले सुन्नुपर्ने, गाउँकेन्द्रित हुनुपर्ने । गाउँमा यस्तो छ, उस्तो छ भन्दै विषय र प्रसङ्गलाई यसरी प्रस्तुत गरिन्छ कि अभाव, भोकमरी, भेदभाव, हिंसा जे छ गाउँमै त छ, सहरमा के छ र ? सहरमा किन चाहियो सचेतता ? जनचेतनाको अभाव त गाउँमा छ यहाँ बोलेर के हुन्छ ? आदि, इत्यादि । हामीकहाँ अर्को एउटा ‘ट्रेन्ड’ पनि छ जुनसुकै प्रसङ्गमा पनि यो भएन, त्यो भएन, केही भएन, हुँदै भएन भन्ने र भएका सारा कुरालाई छायामा पारिदिने । केही समयअघि अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर लिइएको अन्तर्वार्तामा एक टेलिभिजन कार्यक्रम प्रस्तोताले यस पङ्क्तिकारलाई प्रश्न गरेकी थिइन्– नारीदिवस मनाएको १ सय २ वर्ष भइसक्यो खै महिलाको अवस्था त उस्तै छ, यत्तिका दिवस मनाइसक्दा के परिवर्तन भयो त ? जवाफमा भने, ‘मेरी आमा मेरा बुबा अर्थात् उहाँका श्रीमान्सँग आँखा जुधाएर बोल्न सक्नुहुन्नथ्यो, तपाईं र म अहिले हजारौँ दर्शकका अगाडि छलफल र तर्क–वितर्क गरिरहेका छौँ, सायद यही नै परिवर्तन हो ।’ कहिलेकाहीँ त हामी परिवर्तनका नाममा अरू नै केही खोजिरहेका छौँ कि जस्तो पनि लाग्छ । गाउँमा केही भएको छैन, जनचेतना नै छैन भनेको सुन्दा लाग्छ– त्यसो भन्ने मानिसहरू गाउँ पुगेकै छैनन् । सहरमा बसेर गाउँको कल्पना गरी कुरा गर्नु र गाउँमै पुगेर त्यहाँका मानिससँग घुलमिल भई वास्तविकतासँग नजिक रहेर कुरा गर्नुबीच निकै फरक छ । गाउँमा समस्या नभएका होइनन्, छन् तर जुन रूपले सहरमा बसेर गाउँको कुरा गरिन्छ ती कुरासँग वास्तविकता त्यति मेल खाइरहेको हुँदैन । गाउँलाई प्राथमिकतामा राखेर कुरा गर्नु राम्रो कुरा हो तर गाउँको कुरा गर्दा सहरमा केही समस्या छैन झैँ गरेर प्रस्तुत गर्नुचाहिँ गलत हो । किनभने सहरमा पनि अनेक समस्या छन् जसका बारेमा चर्चासमेत अत्यन्त कम हुने गरेको छ ।
सहरको सबैभन्दा ठूलो समस्या सहरलाई सहरका रूपमा विकास नगरिनु हो । गाउँमा भन्दा सुविधा धेरै हुन्छ र जीवन सहज हुन्छ भन्ने विश्वासमा सहर मानिसको रोजाइमा पर्ने गर्छ । सडक, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सबै प्रकारका सेवा–सुविधा पाइने हुुनाले जीवनयापन गर्ने थलोका रूपमा सहर पर्ने गरेको हो । तर, नेपालमा सहरहरूको विकास जसरी हुँदै छ त्यसले मानिसमा सहरप्रतिको धारणा नै परिवर्तन हुने स्थिति बनेको छ । सहरमा रोजगारी पाइन्छ र जीवन धान्न सजिलो हुन्छ भन्ने मान्यताले पनि त्यत्तिकै काम गरेको हुन्छ । नेटवर्कले काम नगर्ने टेलिफोन, आक्कलझुक्कल मात्रै बल्ने बत्ती, खाल्डाखुल्डी सडक, दूषित पानी, खाना पकाउनका लागि ग्यासको अभाव, गाडी चलाउन पेट्रोलको अभाव, धूलो र धुवाँमय हावा, कोलाहलमय दैनिक जीवनले काठमाडौंलगायतका सहरलाई सहरभन्दा अरू नै केही बनाइरहेका छन् । शैक्षिक बेरोजगारी यति धेरै बढेको छ कि युवाहरू ‘डिप्रेसन’मा जान थालेका छन्, जे ग-यो त्यही हँुदैन, काम खोज्यो पाइँदैन के गर्ने ? घरमा अन्न या नुन–तेल सकियो भने गाउँमा त ऐंचोपैंचो पनि चल्छ तर सहरमा भोकै बस्नुपर्छ । डेराभाडा यसरी बढेको छ कि कामकाजी मानिसलाई त गाह्रो छ, विद्यार्थी या बेरोजगारले कसरी तिर्ने ? अहिले त झनै अनियन्त्रित आप्रवासनका कारण डेरा नै नपाउने अवस्था छ । राम्रा विद्यालय नभएका होइनन् छन्, तर ती फी तिर्न सकिने प्रकारका छैनन् । अस्पतालहरू पनि रोजी–छाडी छन् तर ती सर्वसाधारणले स्वास्थ्यसेवा लिन सक्ने खालका छैनन् । सरकारी अस्पतालमा बेड पाइँदैन, जचाउनका लागि पालो कुर्नै धेरै दिन लाग्छ, निजीमा धान्न सकिँदैन । निःशुल्क पाइने हावा छ, नभएको होइन (नभएको भए त बाँच्ने कुरै थिएन) तर धुलो र धुवाँले सास फेर्नका लागि माक्स नै लगाउनुपर्ने अवस्था छ ।
सहरमा अभाव छ र अभावले निम्त्याएका अनेक समस्या छन् । चोरी, डकैती, हत्या, हिंसा, तनाव र त्यसबाट उत्पन्न डिप्रेसन, आत्महत्या, पारिवारिक विखण्डन के छैन सहरमा ? प्रायः भन्ने गरेको सुनिन्छ गाउँका महिला दुःखी छन्, पीडित छन्, बोल्न जान्दैनन्, कुरा बुझेका छैनन् । सहरका पनि सबै महिला सुखी छैनन् । राजनीतिक चेतनाको कुरा गर्ने हो भने सहरका भन्दा गाउँका महिलामा बढी छ । सहरका महिला सबै कामकाजी छैनन् न त सबै लोग्नेको कमाइमा निर्भर नै छन् । गाउँमा भन्दा मानसिक हिंसा सहरमा बढी छ । गाउँमा ओल्लो घर पल्लो घर, छिमेकी, नातेदार कसले के भन्लान् कसो गर्लान् भन्ने हुन्छ, स–सानो कुरामा पनि होहल्ला हुन्छ तर सहरका कोठाभित्र पर्दा लगाएर हुने घटनाबारे थाहै नपाई मानिस जिउँदो या मरेको लास बनिसकेका हुन्छन् । गाउँको कुरामा अहिले धेरैले भन्ने गरेको कुरा हो वैदेशिक रोजगारीले ल्याएको सामाजिक समस्या र पारिवारिक विखण्डन । गाउँमा जे हुन्छ त्यो बाहिर देखिन्छ । सहरमा त यसप्रकारका विखण्डन धेरै अगाडिदेखि हुँदै आएका हुन् । सहरको आश्चर्यजनक पक्ष के हो भने कतिपय परिवारमा एउटै घरमा बसेर पनि मानिसहरूसँगै छैनन् । आफ्ना लागि नभएर सन्तान र आफन्तका लागि जीवन बाँच्नेहरू यहाँ धेरै छन् । खान–लाउनभन्दा पनि मानिसलाई अहिले सम्बन्धमा समस्या छ । सम्बन्धहरू हिजो पनि जोखिममा थिए र आज पनि छन् । मानिसहरू आफ्नाहरूबाटै सुरक्षित छैनन् चाहे महिला हुन् या पुरुष । समस्या लोग्ने–स्वास्नीको मात्रै पनि रहेन । आफ्नै सन्तानबाट पीडित आमाबाबुको सङ्ख्या बढ्दै गएको छ, पढेलेखेका छोराछोरीले काम नपाउँदाको निराशा आमाबाबुमाथि पोख्न थालेका छन् । सहरका सडकमा हिँडिरहेका मानिसका अनुहारमा एकछिन आँखा अड्याउने हो भने मात्रै पनि उनीहरूको तनाव प्रस्ट देख्न सकिन्छ । विभिन्न कारणले उत्पन्न तनाव र निराशा परिवारमा पोखिँदा पारिवारिक हिंसामा वृद्धि भएको छ । एक छाक खाना र एकसरो लुगा नपाउनेहरूको ठूलो सङ्ख्या छ सहरमा, धनी र गरिबबीचको खाडल पनि त्यत्तिकै छ । आवरणमा एउटा र भित्र अर्कै जीवन जिउनेहरूको सङ्ख्या ठूलो छ सहरमा, सहरीकरण र आधुनिकीकरणले ल्याएका समस्याहरू छुट्टै छन् । त्यसैले बाहिरबाट हेर्दा सहरमा धेरै कुरा भए पनि जीवन त्यति सहज भने छैन ।