ट्राफिक कारवाही : स्वयंसेवकको मुख्य काम जेब्राक्रसमा पैदल यात्रीलाई सघाउने

ट्राफिक कारवाही : स्वयंसेवकको मुख्य काम जेब्राक्रसमा पैदल यात्रीलाई सघाउने


  • सुरेन्द्र सुवेदी, काठमाडौं

उपत्यका ट्राफिक प्रहरीले कारवाहीमा परेका चालकलाई स्वयंसेवकको रुपमा परिचालन गरेपछि यसको प्रभावकारिता अध्ययन सुरु भएको छ । मादक पदार्थ सेवन गरेर, लेन लाइन पालना नगर्ने, रातो बत्तीमा गाडी नरोक्ने र तीव्र गतिमा सवारी चलाउने चालकलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार ट्राफिक प्रहरीलाई सघाउन स्वयमसेवकको रुपमा सडकमा खटाउन थालिएको छ ।

उपत्यकामा सुरु भएको यो कार्यक्रमको अवधारणा भने महिला ट्राफिक प्रहरीलाई महिनावारी हुँदा ४ दिन विदा दिने निर्णयसँगै सडकमा ट्राफिकको संख्या कम हुने भएकोले विकल्पमा कारवाहीमा परेका चालकलाई स्वय्सेवकको रुपमा खटाइएको एक ट्राफिक प्रहरी अधिकृतले घटना र विचारलाई बताए ।

उपत्यकामा दैनिक झण्डै ३ हजार जना चालक ट्राफिक कारवाहीमा पर्छन् । तीमध्ये मापसे, लेन अनुशासन, रातो बत्ति र तीब्र गतिमा गाडी चलाउनेको संख्या दैनिक करिव १ हजारको हाराहारीमा रहने गरेको छ । यसअघि ट्राफिकले कारवाहीमा परेकालाई सचेतना कक्षा लिएर छोड्ने गरेको थियो भने अब छोटो समय सचेतना कक्षा र त्यसपछि सडकमा खटाउन थालेको हो । १०/१५ जनाको समूह लिएर एक/दुई जना ट्राफिक प्रहरीले स्वयमसेवकलाई काम सिकाउने र खटाउने गर्छन् ।

यसरी स्वयमसेवकको रुपमा खटिएका चालकको मुख्य काम भनेको जेब्राक्रसमा पैदल यात्रीलाई ट्राफिक लाइटको आधारमा रातो बत्ति बल्दा सडक पार गर्नबाट रोक्नु र हरियो बत्ति बल्दा सडक पार गर्न दिनु मुख्य रहेको छ । यस्तै आकाशे पुल र अण्डर पास प्रयोग गर्न पैदल यात्रीलाई लगाउनु पनि रहेको कार्यालय प्रमुख डिआइजी पोषराज पोखरेलले बताए ।

उपत्यकामा १ हजार १ सय ३ जना ट्राफिकको दरबन्दी छ । यहाँ १४ लाखको संख्यामा दैनिक सवारी चल्छन् । सडक भने २ हजार ८३ किलोमिटरमात्र छ । सडकको दूरी कम र यातायातका साधन बढी चल्नाले ट्रापिकको संख्या कम भएर करिव ७ सय ट्राफिक काजमा ल्याएर यातायात सञ्चालन व्यवस्थापन गरिँदै आएको कार्यालयको भनाइ छ ।

यहाँ २ सय ५० महिला प्रहरी ट्राफिक छन् । उनीहरु महिनावारी हुँदा सडकमा उभिएर यातायात सञ्चालन गर्न शारिरीक रुपमा कष्ट भोग्नु परिरहेको गुनासा आउने गरेका थिए ।