ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलङ्का जाने

ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलङ्का जाने


पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलङ्काको कोलोम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन् । उनको प्रशिक्षण यही जेठ २० गतेदेखि सुरु हुनेछ । प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलङ्का जानेछन् ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । सदस्य-सचिव घिसिङले नेपाल ब्याडमिन्टन सङ्घलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘ट्रेनिङ प्लान’ पेस गर्न निर्देशन दिँदै नेपाली प्रशिक्षकको पनि स्तरवृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससँगै प्रशिक्षकलाई पनि श्रीलङ्का पठाएको बताए ।

प्रिन्सलाई इन्डोनेसियाको राष्ट्रिय टोलीसमेत सम्हालिसकेका इन्डोनेसियाकै प्रशिक्षक टोनी वाहयुदीले प्रशिक्षण दिनेछन् । प्रिन्स यसअघि नै पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भइसकेका छन् । प्रिन्स र ब्याडमिन्टनका मुख्य प्रशिक्षक योञ्जन यही जेठ २० गते नै श्रीलङ्काको कोलोम्बो प्रस्थान गर्नेछन् ।

file photo