बेलायत पुग्ने पहिलो नेपालीको नालीबेली

बेलायत पुग्ने पहिलो नेपालीको नालीबेली


बेलायत पुगेका पहिलो नेपाली मोतीलाल सिंहलाई जङ्गबहादुरले १७४ वर्षअगाडि यदि नभेटेका भए गुमनाम लण्डनको सडकमा उनको मृत्यु हुने थियो । जङ्गसँगको भेटले नै बेलायत पुग्ने पहिलो नेपालीका रूपमा इतिहासमा नाम लेखियो ।

वि.सं. १९०६ माघ ४ गते काठमाडौंबाट बेलायत यात्राको लागि निस्केको जङ्गबहादुरको टोली निकै ठूलो थियो । बाह्र सय सैनिकहरूको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाई साथमा लगेका थिए जङ्गबहादुरले ।

यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यहीँ घुम्नको लागि रोकिए । जगन्नाथ पुरीमा जङ्गबहादुरले पाँच हजार रूपैयाँ मन्दिरलाई दान पनि गरेका थिए । आजको रकममा परिवर्तन गर्ने हो भने यो रकम करोडौँ रूपैया हुन आउँछ ।

चैत्र २७ गते बेलायतको लागी पानीजहाजमा यात्रा आरम्भ भयो । ५००० पाउण्ड रकममा भाडामा लिएको ए ७ इ Company को Haddington Steamer मा जङ्गबहादुरको यात्रा आरम्भ भए पछि १२०० सैनिकले बिदाइ गर्दा सबै सैनिकहरू धेरै समयसम्म पनि रूँदै समुन्द्र हेर्दै बसेका थिए । उनीहरूको सोचाइ समुन्द्रीयात्रा डरलाग्दो हुन्छ, तसर्थ महाराजा अब कहिल्यै फर्केर आउने छैनन् भन्ने थियो !

मद्रास, सिलोन (श्रीलंका), एडेन (यमन), स्वेज (इजिप्ट), काइरो (इजिप्ट), एलेक्जेन्ड्रिया, जिब्राल्टर हुँदै जेठ १४, १९०७ मा बेलायतको दक्षिण Southampton Harbour मा करिब साढे चार महिना पछि बल्ल पुग्न सफल भएको थियो ।

सबैको मान्यता जङ्गबहादुर यूरोप पुग्ने पहिलो नेपाली भन्ने थियो । तर वास्तविकता अर्कै थियो । जङ्गबहादुर लण्डन पुगेको दुई दिनमा नै सडकमा घुम्दै गर्दा अचानक सडकमा कुचो लगाएर माग्दै गरेको नेपालीमाथि जङ्गबहादुरको आँखा पुग्यो । उनले बोलाएर सबै कुरा सोधे । त्यसपछि कहिले कसरी बेलायत पुगेको सबै सबिस्तारमा बर्णन गरे उनले ।

उनको नाम मोतीलाल सिंह थियो भने जन्म भक्तपुरमा भएको थियो । उनको नामको पछाडि ‘सिंह’ भएको हुँदा उनी नेवार थिए भनेर अड्कल गर्न सकिन्छ । नेपाल-अंग्रेज युद्धको समय घाइते भएका उनलाई अंग्रेज सेनाले कब्जामा लिएका थिए । उनको बहादुरीबाट खुशी भएका अंग्रेज सैनिक अफिसरले युद्धबन्दीका रूपमा रहेका उनलाई सैनिकको रूपमा अंग्रेजको सेनामा भर्ती गराइदिए । अंग्रेजी बोल्न सिकेका उनले कलकत्तामा विवाह गरेपछि परिवार-बालबच्चा पनि भयो । यसरी खुशीसाथ बसेका उनलाई एकदिन पानीजहाजका ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनको साथ वि.सं. १९०० तिर लण्डन पुगे । लण्डनमा उनको नेपाली नामको अंग्रेजीकरण भयो । उनको नाम अंग्रेजीमा Mutty Loll Sing हुन पुग्यो ।

कलकत्तामा श्रीमती र छोराहरूलाई छोडेर गएका थिए । उनका श्रीमती र छोराहरूको विषयमा कुनै पनि जानकारी भेटिँदैन । मोतीलालकै भनाइमा उनकी श्रीमती शुद्र थिइन् । उनकै लेखका अनुसार पनि धेरै छोराको जन्म भएको थियो । पुराना दस्तावेजहरू खोतल्दै कलकत्तामा केही Loll Sing पछाडि नाम भएका भेटिन्छन् । यी नामहरूसँग कतै मोतीलाल सिंहको सम्बन्ध पनि हुन सक्छ ।

मोतीलाल लण्डन पुगेको केही दिनमा नै उनसँग भएका सबै पैसा चोरी भयो, जसले गर्दा लण्डनको सडकमा बेवारिसे हुन बाध्य भए । मागेर खाने र St. Paul चर्चमा बस्ने तथा कुचो लगाउने काम गर्न थाले ।

यस्तैमा आजभन्दा १७४ वर्षअगाडि वि.सं. १९०७ जेठ १६ मा जङ्गबहादुरको नजर अचानक उनमा परेको थियो । यसपछि जङ्गबहादुरले उनलाई उनको दुखद परिस्थितिबाट मात्र मुक्त गरेनन्, उनलाई आफ्नो यात्राभरी दोभाषेको रूपमा साथ राखे । आफू जहाँ–जहाँ गए सबै ठाउँमा सम्मानसाथ उसलाई लिएर गए । मोतीलाल सिंहले जङ्गबहादुरलाई महत्वपूर्ण ठाउँ मात्र घुमाएनन्, त्यहाँको सविस्तार बर्णन पनि गरिदिए ।

जङ्गबहादुरका साथ पेरिस पनि पुगे मोतीलाल, तर जङ्गबहादुर नेपाल फर्कंदा उनि नेपाल फर्कन मानेनन् । जङ्गले उनलाई अनुरोध नगरेका होइनन् तर उनले नेपाल फर्कनै चाहेनन् । हुनसक्छ नेपालमा रहेको उनको परिवारले युद्धमा उनको मृत्यु भएको सम्झेर काजकृया पनि गरिसकेका थिए होलान् । त्यो समय कसैको मृत्यु भएको मानेर काजकृया गरिसकेर जीवित फिर्ता आएमा परिवारले स्विकार नगर्ने प्रचलन थियो । केही बुझ्ने परिवारले पूनर्जन्मको रूपमा फेरि न्वारानदेखिको विधि गरेर घर भित्राउने गर्दथे भने कतै-कतै संस्कारले मृत्यु भइसकेको मानेर जीवित आए पनि हत्यासम्म गरिदिन्थे । वास्तवमा नजिककाहरूले उनको हिस्साको सम्पति लिइसकेको हुँदा पनि उनलाई जीवित रूपमा स्विकार गर्न खोज्दैनथे । यस्तै कारणले पनि नेपाल फर्कन चाहेनन् होला मोतीलाल सिंह । अर्कोतर्फ कलकत्तमा रहेको पत्नी र छोराहरूसँग पनि कुनै सम्पर्क गरेका थिएनन् उनले, तसर्थ कलकत्ता पनि फर्कन खोजेनन् ।

जङ्गले लण्डनमा छोडेर आएका मोतीलाल सिंहको मृत्युको पनि कुनै रेकर्ड भेटिँदैन । उनको मृत्यु कहिले कहाँ र कसरी भयो भन्ने जानकारी कतै भेटिँदैन । The New Monthly Magazine को सन् १८५० को अंकमा मोतीलाल सिंहले एउटा लामो लेख नै छपाएका थिए । लेखको शीर्षक राखिएको छ- Some Account of the Nepaulese in London, यस लेखमा उनले आफ्नो नाम Mutty Loll Sing नै लेखेका छन् । आफ्नो छोटो परिचयमा उनले सेन्ट पाउल कब्रिस्तानका सफाइकर्मी लेखेका छन् । लेखको पहिलो भागको शीर्षक- ‘मोतीलाल सिंहले यो इतिहास कसरी लेख्यो’ राखेका छन् । आफ्नो जन्मको समय पनि उनले भिन्न रूपमा लेखेका छन् । मोतीलाल सिंह (मेरो) जन्म भादगाउँ नेपालमा भएको हो । राजाको दरबार रहेको काठमाडौंदेखि खासै टाढा होइन । मेरो जन्मको समय नेपालमा राजा गिर्वाणको शासनकाल थियो । भदौको अँध्यारो चन्द्रमा आधा भएको थियो भने पृथ्वीले २० चक्कर लगाइसकेको थियो । (यसले उनको जन्म समय भदौको २० गते भाद्र कृष्ण अष्टमीको दिन थियो । साल स्पष्ट लेखेका छैनन् । अनुमानअनुसार वि.सं. १८५६ आसपास हुनुपर्दछ ।)

‘अंग्रेजसँगको युद्धको अन्तिम घडीतिर म घाइते भएँ । त्यसपछि युद्धवन्दीका रूपमा विजयी सैनिकहरूले मलाई लगे । उनीहरूले मलाई विजयी सेनामा भर्ती गराइदिए । त्यसपछि म उनीहरूका लागि लड्न थालेँ । उनीहरूकै लागि बोल्न थालेँ । जब शान्तिका दिनहरू आए म आफ्नो जन्मभूमिदेखि टाढा कलकत्ता शहरमा बस्न पुगेँ । म शारीरिक रूपले ठिक भए पनि एक किसिमले शुद्र भइसकेको थिएँ । विवाहपछि हाम्रा धेरै सन्तानहरू भए । एकदिन एउटा पानीजहाजको अंग्रेज क्याप्टेनले देखाएको सुनौला भविष्यको सपनाका कारणले मैले धेरै दुःखकष्ट पाएँ । जहाजको यात्रामा कमाएको पैसा पनि सबै गुमाएँ । र, एक अन्जान देशमा तिरस्कृत तथा उपेक्षित रूपमा बाँच्न बाध्य भएँ । लोभले लाभ लाभले विलाप भनेझैँ भयो ।’

‘लामो समयसम्म म लण्डनको चिसो सडकमा काँपिरहें, प्रायः भोको, प्रायः पानीसम्म खान नपाउने गरी । तर भगवानप्रति विश्वास थियो, यस्तैमा आजीविकाको लागि मेरो हातमा कुचो आयो । म सेन्ट पाउल चर्चको छाँयामा रहन थालेँ । लण्डनको सडकमा कतिपय धनाढ्य, कतिपय गरिवहरू पनि हिँडिरहन्थे । तर कसैलाई पनि मोतीलालको वास्ता थिएन । आक्कलझुक्लल एक/दुई पेन्स हात लाग्थ्यो । त्यो पैसाले म चामल किन्थेँ, कपडा लिन्थेँ । जसरी ठूलो समुन्द्रमा एउटा काठ अर्को काठसँग मिल्दछ त्यसरी नै मेरो देशवासीसँग भेट भयो । शस्त्रको देवता स्कन्दको आशीर्वादको एक घडीमा सर्वश्रेष्ठ मन्त्री जङ्गबहादुर मतर्फ फर्किए । आज म जस्तो छु वहाँको दयालु कृपाले नै छु । ममा अचानक आशा जाग्यो, म मेरो जन्मभूमिमा फर्कन पाउने छु । र, आशा गर्दछु मेरी शुद्र पत्नी मेरो प्रतीक्षामा बाँचिरहेकी छ ।’

यसरी उनको लेखको पहिलो भाग समाप्त भएपछि दोश्रो भागमा ‘राजदूतको आगमन र उनको स्वागतको तरिका’ शीर्षक दिएर लेखेका छन् । यसपछि भने चार भाग जति मोतीलालले जङ्गबहादुरको लण्डन प्रवासको एक-एक घटनाको बारेमा लेखेका छन् । कहाँ के भयो कसरी पुगे भन्ने बेलिबिस्तार गरेका छन् ।

(प्रस्तुत चित्र मोतीलाल सिंहको वास्तविक तस्बिर नभइ प्रतिनिधि रेखाचित्रमात्रै हो । – ले.)