कूलमान-काइदा : नेपालमा लोडसेडिङ भारतमा बिजुली बिक्री !

कूलमान-काइदा : नेपालमा लोडसेडिङ भारतमा बिजुली बिक्री !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपालमा अघोषित लोडसेडिङ गरेर बदनाम भइरहेका कूलमान घिसिङले अर्काे कर्तुत गर्न भ्याएका छन् । उनले नेपालमा लोडसेडिङ गरेर भारतमा बिजुली बेचेको खुल्न आएको हो । नेपालबाट अहिले विद्युत प्राधिकरणले दैनिक ४ सय मेगावाट बिजुली बेच्दै आएको छ ।

नेपाल उद्योग परिसंघ र मोरङको विराटनगरका उद्यमीहरूले कूलमानले गरेको यो पछिल्लो कर्तुतको खुलेर विरोध गर्न थालेका छन् । नेपालका उद्योगहरूमा लोडसेडिङ गर्दै प्राधिकरणले गतसाता सोमबारदेखि भारतमा बिजुली बेचेको प्रकरणमा परिसंघले गम्भीर आपत्ति जनाएको छ । उसले भनेको छ, ‘सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूलाई मारेर कसरी विद्युत् निर्यात गर्न सक्यो भन्नेमा परिसंघ चिन्तित भएको छ ।’

परिसंघले जारी गरेको विज्ञप्तिअनुसार विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएका उद्यमीहरुले प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नगरेको आरोप पनि लगाएको छ । परिसंघले विद्युत आपूर्ति सहज नगरेर अघोषित रुपमा लोडसेडिङ गर्दा नेपालका उद्योगहरु तीन महिनादेखि समस्या भोग्दै आएको पनि उल्लेख गरेको छ ।

परिसंघजस्तै मोरङ उद्योग व्यापार संघले पनि कूलमानको यो कर्तुतको खुलेर विरोध गर्न थालेको छ । उनले भनेको छ, ‘नेपाल विद्युत् प्राधिकरणले केही महिनादेखि स्वदेशी उद्योगहरूको आवश्यकताअनुसार विद्युत आपूर्ति गर्न नसकिरहेको तथा उद्योग सञ्चालन अवरुद्ध हुने गरी अघोषित तवरले दिनहुँ १२ घण्टासम्मको लोडसेडिङ हुने गरेको छ ।’

उसले देशको उत्पादकत्व एवं आत्मनिर्भरता अभिवृद्धि तथा स्वदेशी उद्योगको संरक्षणार्थ सरकार, विद्युत् प्राधिकरणसमेतका निकायलाई नेपालमा बिजुलीको खपतअनुसार वितरण गरेरमात्र बिक्री गर्न भनेको छ ।

अहिले देशका विभिन्न स्थानमा दैनिक १९ घण्टासम्म लोडसेडि छ । देशका विभिन्न स्थानमा रहेका बजार र उद्योगहरुको बिजुली अघोषित रुपमा काटेर लोडसेडिङ गरिँदै छ भने त्यहाँ वितरण गर्नुपर्ने बिजुली राजधानी काठमाडौं र खासखास शहरी क्षेत्रमा वितरण गरिँदैछ । र, त्यसरी पनि बिजुली नपुगेपछि फिडरहरु, पोल, तार मर्मत र संभारको नाममा दैनिक ५ देखि ७ घण्टासम्म अघोषित लोडसेडि गराउन कूलमान नामक पात्र सफल बन्दै आएका छन् ।

नेपालमा हिउँदको समयमा १ हजार १ सय मेगावाटमात्र बिजुली उत्पादन हुन्छ । ‘रन रिभर’ भनिने खोलामा पानी हुँदा बढी उत्पादन र पानी घट्दा कम उत्पादन हुने प्रणाली जडित विजुली उत्पादनका कारण हिउँदको समयमा सधैं बिजुलीअभाव भइरहन्छ । नेपालको कूल विद्युत उत्पादन क्षमता भनेको ३ हजार मेगावाट हो । जसमा निजी क्षेत्रको २ हजार ३ सय मेगावाट र सरकारी क्षेत्रको ७ सय मेगावाट रहेको छ ।

पिक आवर भनिने बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ६ बजेदेखि ९ बजेसम्म बिजुलीको प्रयोग गर्न नपाएर उपभोक्ता हैरान छन् । कूलमानको यस्तो बदमासी आगामी असारको पहिलो सातासम्म हुनेछ । जेठ अन्तिमबाट मनसुन भित्रने र खोलामा पानीको बहाव बढ्न थालेपछि विद्युत उत्पादन वृद्धि हुने र त्यसपछिमात्र नेपालीले पुग्ने बिजुली बाल्न पाउनेछन् ।