गोदावरी नगरपालिकाका मेयर र उपमेयरविरुद्ध करोडौं भ्रष्टाचारको मुद्दा दायर

गोदावरी नगरपालिकाका मेयर र उपमेयरविरुद्ध करोडौं भ्रष्टाचारको मुद्दा दायर


ललितपुरको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित नौजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । मुद्दा दायर भएसँगै श्रेष्ठ र अधिकारी निलम्बनमा परेका छन् ।

नगरपालिकाको आर्थिक वर्ष २०७९/८० मा खानीजन्य वा नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थको बोलपत्र आह्वान एवम् ठेक्का सम्झौता गर्दा कानुन विपरीत काम गरेको आयोगको अनुसन्धानले देखाएको छ । आयोगले नगरप्रमुख महर्जनविरुद्ध रु. २६ करोड ६३ लाख ३७ हजार बराबर भ्रष्टाचार गरेको अभियोग लगाएको छ । यस्तै उपप्रमुख अधिकारीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिृकत प्रविन कोइराला, राजस्व शाखा प्रमुख श्रीकण्ठ घिमिरे, कर्मा कन्स्ट्रक्सन र त्यसका सञ्चालक रवि महर्जन, निराकार ढुङ्गा रोडा उद्योगका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोजका सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा उद्योगका सञ्चालक शशिराज शाही र वीरेन्द्र महर्जनविरुद्ध पनि समान बिगो दावी गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।

file photo