विपरीतलिङ्गीको जोडी र मायाप्रेम

विपरीतलिङ्गीको जोडी र मायाप्रेम


चराचर जगतमा फूल फुल्ने बनस्पतिमा भए पुंकेशर र स्त्रीकेशर अनि जीवजन्तुमा भए पुलिङ्ग र स्त्रीलिङ्ग बिचमा जोडी बनेर सृष्टिको अविच्छिन्नता कायम भएको छ । यथोचित समयको खपत भएपछि वनस्पतिहरू फुल्न थाल्दछन् र एउटै फूलमा प्रायः पुंकेशर र स्त्रीकेशर रहेको हुन्छ । जब पुंकेशरबाट परागकण स्त्रीकेशरको रजकणसँग सेचन हुन्छ, त्यसलाई परागसेचन भनिन्छ र ती दुई कणको मिलन भएपछि गर्भाधान हुन्छ र बचिलो/चिचलो लागेर फल फल्दछ । फल पाकेर झरेपछि जब बीउको माटोसँग समागम हुन्छ, तब बीजाङ्कुरण हुन्छ र अन्ततः त्यो बिरुवा बनेर पुनः फूल फुल्ने, परागसेचन हुने, गर्भाधान हुने र फल फल्ने क्रम निरन्तर चलिरहँदा धर्ती उजाडिन नपाई हराभरा नै रही रहेको छ ।

त्यस्तै, जीवजन्तुहरूमा पनि समागमको माध्यमबाट जब पुलिङ्गको शुक्रकीट स्त्रीलिङ्गको रजसँग मिलन हुन्छ, तब गर्भाधान भई भ्रुणको रूप हुँदै अन्ततः यथासमयमा बच्चा बनेर धर्तीमा जन्मन्छ । हुर्की बढेर जवान भएपछि विपरीतलिङ्गीसँग समागम गरी पुनः बच्चा जन्माउने, माउहरू वृद्ध हुँदै मृत्यु वरण गर्ने क्रम जारी रहेको छ र जैविक अविच्छिन्नता कायम रहेको छ- प्राकृतिक विद्वतता !

यहाँ अन्यान्य प्रसङ्गलाई थाती राखी मानवीय दाम्पत्य जीवनको सन्दर्भलाई नियाल्ने जमर्को गरिएको छ । मस्तिष्क ‘ब्रेन’ को अन्यान्य वर्गीकरणलाई कायमै राख्दा एकथरि वर्गीकरणमा पहिलो, ‘बेसिक ब्रेन’ जुन कीटपतङ्गहरूमा पाइन्छ र यसले आफ्नो-अर्कोसम्म छुट्याउन सक्दैन; दोस्रो, ‘मिड ब्रेन’ जुन स्तनधारीसम्मका प्राणीहरूमा पाइन्छ र यसले जस्तालाई तस्तै प्रतिक्रिया जनाउँछ भने तोस्रो, ‘नियोकर्टेक्स ब्रेन’ जुन केवल मान्छेमा मात्र पाइन्छ र यसले घृणाको बदलामा माया दिन सक्दछ भनिएको छ । यो मानेमा मान्छे प्रकृतिको सगुन सिर्जना/उपज हो । तर, यसैमा स्वेच्छिक जोडीले निरन्तरता पाउँदैन र उमेर पुगेपछि आफैँले रोजेको होस् वा अभिभावकद्वारा गण, गुण मिलाइएको होस्, केटा-केटीको बिहे गरिदिएर श्रीमान्-श्रीमती बनाइन्छ । सिद्धान्ततः अब यो जोडी बेगर अरू विपरीत लिङ्गीसँगको समागम अनुचित, अवैधानिक मानिन्छ ।

मानिसको जोडीलाई हेर्दा बिहेपूर्व केटाकेटीका बिचमा कति गुणहरू मिलेका छन् ? भनेर ज्योतिषीय दृष्टिपात गरिन्छ । पञ्चाङ्ग पात्रोहरूमा हुने वरवधू गुणमेलापक सारिणी अनुसार सर्वाधिक गुण मिल्नु भनेको ३६ हो र यो पूर्वषाढा र मृगशिरा नक्षत्र भएको केटा, क्रमशः उत्तरषाढा र रोहिणी नक्षत्र भएकी केटीसँगको जोडीमा मात्र सम्भव देखाइएको छ । न्यूनतम ४ गुण मिल्न सक्ने प्रावधानमा १८ गुण मिलेमा शुभ, २० गुणसम्म मध्यम र सोभन्दा माथि गुण मिलेमा उत्तम जोडी मानिएको छ । अभिभावकले वरवधू चयन गर्दा यसलाई मध्यनजर नगरेमा जोडीको भविष्य सुखद हुँदैन । स्वचयनका हकमा एकापसमा मन मिल्नु भनेकै स्वभावतः उल्लिखित गुण मिल्नु हो भनिन्छ । जे जसरी भएपनि बिहै भएर साथै रहने जोडीहरू हेर्ने हो भने कतिपय उत्तम – जोडी नै राम्रा, विद्वान्, सम्पन्न, सामाजिक हुन्छन्, कतिपय मध्यम – सम्पन्नता, विद्वतता, रूपमा उत्तम नभएपनि आपसमा टम्म मिलेका जोडी हुन्छन् भने कतिपय कुनैपनि हिसाबले नमिलेका भएपनि श्रीमान्-श्रीमती भएर रहेका/रहन विवश भएका हुन्छन्, जसलाई अधम जोडी भन्न सकिन्छ ।

गणितीय हिसाबले परिभाषा गर्दा सौन्दर्य (रूप) र गुणहरू (सामाजिक, आर्थिक, भौतिक, बौद्धिक आदि) को पूर्णाङ्क १०० मान्दा वरवधू दुबै १००/१०० को जोडी मिल्यो भने जोडीको औषत अङ्क पनि (१००+१००)÷२=१०० नै हुने भयो, जुन उत्तम जोडी हो । यस्तो जोडी प्रायः विरलै जुट्ने प्रकृतिको जोडी हो ।

हरेक व्यक्तिको सौन्दर्यता र गुणवत्ताको उच्च अङ्क १०० मान्दा स्वभावतः कसैको रूप नराम्रो होला, कसैको सामाजिक वर व्यवहार अनुपयुक्त होला, कसैको आर्थिक न्यूनता होला, कसैको पढाइलेखाइ कमजोर होला, परिणाम जस्तो भएपनि मानव भएकाले न्यूनतम १०, सामाजिक प्राणी भएकाले १०, स्वेच्छिक रोजगारीबाट भएपनि थोरै आय आर्जन गर्ने भएकाले १०, प्रकृतिबाटै अरूहरूबाट सिक्ने हिसाबले अनपढै भएपनि १० अङ्क मान्दा मान्छे हुन ४० अङ्क आवश्यक हुन्छ । यदि ४०/४० अङ्ककै जोडी बनेमा त्यस्तो जोडीको औषत पनि (४०+४०)÷२=४० नै हुने भयो, जुन अधम जोडी हो । यस्तो जोडी पनि प्रायः विरलै जुटेको हुन्छ ।

यो मानेमा समाज मध्यम जोडीहरूले भरिएको छ भन्दा फरक नपर्ने देखिन्छ । तर त्यहाँ पनि हरेक जोडीलाई गहिरिएर नियाल्ने हो भने कसैको श्रीमती ठीक छन् भने श्रीमान् ठीक नभएको वा कसैको श्रीमान् ठीक भए पनि श्रीमती ठीक नभएको कारण जोडीको औषत अङ्क मध्यम जोडी (५०-९९) को सरह हुँदा त्यस्तो जोडी मध्यम भएको हुन्छ । गणितीय भाषामा, श्रीमती १०० गुण भएकी छन् तर श्रीमान् ४० गुणको परेमा जोडीको औषत अङ्क (१००+४०)÷२=७० हुने भयो, जुन मध्यम जोडीको अङ्क हो । जबकि श्रीमान्-श्रीमतीलाई अलग-अलग हेर्ने हो भने सबैले ‘श्रीमती त आँखामा हाले पनि नबिझाउने छिन्, तर अभागी रहिछन् त्यस्तो वेबकुफ लोग्ने पऱ्यो विचरा !’ भन्ने सामाजिक प्रतिक्रिया सुन्न पाइन्छ । त्यस्तै श्रीमान् १०० गुण भएकोमा ५० गुण भएकी श्रीमती परेमा पनि जोडीको औषत गुण (१००+५०)÷२=७५ हुँदा मध्यम प्रकृतिकै जोडी मानिएपनि व्यक्तिगत हिसाबमा नियाल्दा ‘त्यस्तो सतगुणी केटालाई कस्ती दुष्ट केटी लेखेको रहेछ विचरा ! कसरी जीवन चलाउलान्’ भन्ने प्रतिक्रिया समाजबाट प्रकटिएको हुन्छ ।

मध्यम जोडीको गुण ७५ भएपनि यदि दुवैको वैयक्तिक गुण ७५/७५ भएर त्यस्तो (७५+७५)÷२=७५ जोडी भएको भए, त्यो जोडी पुनः उत्तम प्रकृतिको हुन् सक्छ । किनभने केटाको राम्रो रूप नभएर, पढाइमा उत्कृष्ट नभएर, अर्थोपार्जन पर्याप्त नहुँदा जस्ता कारणले वैयक्तिक गुण ७५ भएकोमा पुनः केटी त्यही हिसाबकी भएमा स्वभावतः त्यस्तो जोडी ‘कुचोकाटी फरक नभएको’ जस्तो टम्म मिलेको जोडी कहलिन्छ । त्यही भएर त फुटपाथेहरूकै जोडी पनि ‘कस्तो चखेवा-चखेवीको जोडी जस्तो’ भन्ने गर्दछ समाजले । यस मानेमा एउटा गुणवान् र अर्को गुणहीनका बिचको जोडीको औषत ७५ अङ्कभन्दा दुवै समान गुणका बिचको जोडीको औषत ७५ अङ्कले जोडीलाई कुन स्तरको भनेर अड्कल्याउँछ अर्थात् दोस्रो प्रकारको जोडीलाई राम्रो जोडी मानिन्छ ।

शारीरिक संरचना मूलतः यौनिक तीव्रता र यौनाङ्गका हिसाबले स्त्रीलाई शङ्खिनी, चक्रिनी, पद्मिनी र हस्तिनी गरी चार वर्गमा विभाजन गरिएको छ भने पुरुषलाई पनि ससक, अश्व, वृष र हस्ती गरी ४ वर्गमा विभाजन गरेको पाइन्छ । जन्मँदाको ग्रहस्थितिका आधारमा शारीरिक बनौट निर्धारण हुने भएकाले पनि उल्लिखित वर्गीकरण गरेको देखिन्छ । यो हिसाबमा जोडी निर्माण गर्दा ग्रहगोचरका आधारमा लगन जुराउने पूर्वीय संस्कार आफैँमा ज्योतिष विज्ञानसम्मत रहेको छ । यदि ससक वर्गको पुरुषसँग हस्तिनी वर्गको महिलाको जोडी बन्यो भने महिलामा पूर्ण यौन सन्तुष्टि हुन सक्दैन, जसको परिणाम उसले परपुरुषको खोजी गरेकी हुन्छे । अश्व वर्गको पुरुषको सङ्खिनी वर्गकी महिलासँग बिहे भयो भने पुरुषले यौन सन्तुष्टि पाउन सक्दैन र उ परस्त्री गमन गर्ने हुन्छ । यो मानेमा सही तरिकाले जन्मकुण्डली तयार भएको भएमा यी वर्गहरू मिलाएर मात्र जोडी कायम गर्नु बुद्धिमानी ठहर्छ ।

यसर्थ, आफू राम्रो/राम्री भएपनि जोडी नराम्री/नराम्रोसँग भएमा समाजले राम्रोको हैसियतमा जोडीको गणना गर्दैन । फेरि वर्गअनुसारको जोडी नमिलेको कसैले देख्दैन, तर श्रीमान्-श्रीमतीले महसूस गर्न सक्दछन् र यसलाई हीनताबोधको विषय बनाएर चिन्तित हुनुभन्दा सहजरूपमा वरण गरी जीवनरथ गुडाउनु मै श्रेय हुन्छ ।

अब गरौँ मायाप्रेमका कुरा ! यसमा पनि सार एउटै भएपनि मायाप्रेमका रूप अनेक हुन्छन् । उदाहरणका लागि एक व्यक्तिले आफ्ना वरिपरिका बाबु-आमा, दिदी-बैनी, दाजू-भाइ, इष्टमित्र सबैलाई माया गर्नुपर्दछ भनौँ मायालु बन्नु पर्दछ । हितोपदेशमा माया हुन निम्नानुसारका ६ वटा गुणहरू हुनुपर्छ भनिएको छ –
ददाति प्रतिगृह्णाति, गुह्यमाख्याति पृच्छति ।
भुङ्गते भोजयते चैव, षठ् विधम् प्रीति लक्षणम् ।।
अर्थात् जसलाई दिन मन लाग्छ; जोसँग लिन सकिन्छ; जोसँग गोप्य कुराहरू गरिन्छ वा गर्न सकिन्छ; जसका बारेमा खोजीनिती गर्न मन लाग्छ; जसकहाँ गएर खान सकिन्छ र जसलाई खुवाउन मन लाग्छ; यी ६ व्यहोरा जहाँ विद्यमान हुन्छन्; त्यहाँ मायाप्रीति हुन्छ । यो मानेमा मायाको सार यसैमा छ, तापनि बाउ-आमालाई गरिने माया, छोरा-छोरीमा गरिने माया, दाजू-भाइ, दिदी-बैनीलाई गरिने माया आफैंमा अनेक रूपका हुन्छन् । यहाँ श्रीमान्-श्रीमतीका बिचको मायाप्रीतिका बारेमा संक्षिप्त हिसाबले नियाल्ने प्रयास गरिएको छ ।

श्रीमान्-श्रीमतीका बिचमा आरूसँग गरिने भन्दा पृथक् प्रीतिकर्म गरिन्छ – समागम ! समागमको उत्कृष्टताका लगि अङ्कमाल, चुम्बन, मृदुस्पर्शादि मायाप्रेमका कर्महरूको अत्यावश्यकता हुन्छ । अर्थात् मायाका कृतहरूले यौनलाई मलजलको काम गर्दछन् । रजनीश भन्छन्- ‘मायाप्रीतिको बीजाङ्कुरण स्वस्थ यौनबाट हुन्छ ।’ यो मानेमा मायाप्रेम र यौन बिचमा चक्रीय सम्बन्ध हुन्छ ।

अब एकपटक यसलाई पनि गणितीय व्याख्यामा तादात्म्य गराऊँ । मानवीय चोलामा गर्न सकिने माया, हुन त यो लचकदार छ, सीमाहीन छ; तापनि १०० मानौँ । यदि यसलाई आदर्श दाम्पत्यको हिसाबमा प्रयोग गऱ्यो भने जीवनपर्यन्त, यथावश्यक हुन्छ । तर, यदि कसैले मायाप्रीतिका कर्महरू र यौनलाई दाम्पत्यका १०/८ वर्षमै सकिने गरी अत्यधिक मात्रामा प्रयोग गऱ्यो भने ११औँ वर्षदेखिको दाम्पत्य जीवन निरसप्रायः हुन जान्छ । यही भएर त यौन स्वच्छन्दता भएका पश्चिमी संस्कारका जोडीहरूबिच असमयमै सम्बन्ध विच्छेद हुने गर्दछ । हुन पनि तिनीहरू हिँड्दै गर्दा होस् वा पार्कहरूमा बस्दा; समुद्रतटमा टहल्दा होस् वा घरमा आराम गर्दा आपसमा अत्यधिक माया दर्शाउँछन् र ५/७ वर्षमै श्रीमान्-श्रीमती बिचको दाम्पत्य माया खाली गराउँछन् । परिणामतः ‘डिभोर्स’ गरेका पर्याप्त उदाहरणहरू पाउन सकिन्छ ।

यसको विपरीत हाम्रो पूर्वीय संस्कारमा यौन क्रियाकलापमात्र हैन, मायाप्रीतिका कर्महरू पनि बडो संयमित हिसाबले गर्ने गरिन्छ । रजनीशकै भाव स्मरण गर्दा – ‘मूलतः दक्षिण एसियातिरको परिवेश हेर्दा; त्यहाँ यौन प्रसङ्ग त परैका कुरा, मायाप्रीतिका कुरा समेत भएजस्तो लाग्दैन; कसरी सन्तानोत्पादन भएको होला जस्तो ?!’ यो मानेमा हामीहरूले श्रीमान्-श्रीमती बिचको मायाप्रेमको उपयोग चलिरहेको जीवनमा मानौँ २५ प्रतिशत पनि खर्च गर्न सकेका हुँदैनौँ । अनि, एक जुनीमा २५ प्रतिशत नै खर्च गर्ने जोडीको माया त चार जुनीसम्म त स्पष्टतः पुग्ने नै भयो । परिणाम हाम्रो जोडी जुनी-जुनीसम्म रहोस् भन्दछौँ । जबकि भित्री मनमा ‘यस्तो निरस जीवन पनि कसरी धानिरहने हो’ जस्ता विचार दैनन्दिक रूपमा मन मस्तिष्कमा सल्बलाइरहेको हुन्छ । हुनपनि प्रकृतिले महिलामा ऋतुकालका समयमा बलात्कारै भए पनि गर्भधारण हुन्छ, यो मानेमा सन्तानोत्पादनको क्रम त चलिरहने भयो नै ।

यसर्थ, यौन स्वच्छन्दता र यौन सङ्कीर्णता आफैंमा अति हुन्, जुन खतीका कारण हुन पुग्दछन् । यस हिसाबले यौन स्वतन्त्रतासम्मको व्यहोरा सम्पादन गरी खती हुनबाट जोगिई दाम्पत्य प्रेमको १०० अङ्क यसै जुनीमा खर्च गर्ने हिसाबले अघि बढ्नु श्रेयस्कर ठहर्छ । व्यहोरा उपयुक्त जँचेको हदसम्म लागू गरौँ ।
…सके सपारौँ, नसके नबिगारौँ… !